महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय


मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) का थारु समुदाय महाभारतकालीन मेडरी नाचको संरक्षणमा जुटेका छन् । सो समुदायले परम्परागत रुपमा प्रदर्शनी गर्दै आएको मेडरी नाचप्रति युवा पुस्ताको चासो कम हुँदै जान थालेपछि पाका पुस्ताले नाच संरक्षणका लागि कला हस्तान्तरण गर्ने अभियान सञ्चालन गरेका हुन् ।
महाभारतको लडाईंमा अर्जुनको रथको ध्वजाका रूपमा बिचमा ध्वजापताकासहितको ठूलो बासको लिङ्गो लिएर घुम्ने गरिन्छ भने मेडरी नाच्दा मादल, झ्याली, तरबारको प्रयोग हुन्छ । यस नाचप्रति केही युवाले चासो देखाएर सिक्न थालेको हुमबहादुर थनेतले बताए । “यस नाचका लागि आवश्यक सामान बनाउन समस्या हुँदा यसको संरक्षणमा चुनौती छ, युवामा हस्तान्तरण गर्न पनि कठिन भइरहेको छ”, उनले भने ।
थारु समुदायको लाठी नाच र झाम्टा नाचप्रति युवापुस्ताको आकर्षण देखिए पनि मेडरी नाच अहिले पनि पाका पुस्ताकै भरपर्नुपर्ने अवस्था रहेको छ । थारु संस्कृतिको पहिचान स्थापित गर्नमा यो नाचको निकै महत्व रहेको चुनिलाल थनेतले बताए । अहिलेको नयाँ पिँढीले भने मेडरी नाचको महत्व बिर्सिंदै गएको थनेतको गुनासो रहेको छ ।
“पहिले पहिले मेडरी नाच धेरै नचाइने गरिन्थ्यो, गाउँघरमा सबै मिली नाच्ने गरिन्थ्यो, अहिले पुराना पुस्ताले मात्र नाच नचाउन गारो हुन थालेको छ”,उनले भने, “अहिले केही युवाहरूको सहभागिता बढ्न थलेको छ ।”
थारु समुदायमा कृष्णलीला र महाभारतमा आधारित मेडरी नाच मात्रै देखाउने गरिएको छ भने सीताहरण नाच लोप हुने अवस्थामा पुगेको दुलामणि गुरौले बताए ।























