देश

सिन्धुपाल्चोकका बाढी पीडितका लागि झापाका कैदीबन्दीले पठाए राहत

जगत ठाडा मगर
२०७८ असार २४ | बिहान ११:०३ बजे

असिम कामु मगर
झापा । झापाको कारागारमा रहेका कैदीबन्दीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका बाढी पीडितका लागि ५० हजार १०० रुपैयाँ नगद पठाइदिएका छन् ।

वर्षायामको सुरुवाती दिनमै सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएपछि पीडित परिवारलाई राहतस्वरुप सहयोग गर्ने उद्देश्यले उक्त नगद रकम कैदीबन्दीले पठाइदिएका हुन् ।

‘परिस्थितिले हामी जहाँ रहे पनि जस्तो रहे पनि मानवीय संवेदना हुनुपर्छ’, कारागार झापामा कैदीबन्दीतर्फको आन्तरिक प्रशासन प्रमुख शेरबहादुर थेबेले भन्नुभयो, ‘सिन्धुपाल्चोकका बाढी पीडितको पीडामा मलमपट्टि पुगोस् भनेर हामीले एक दिनको छाक कटाएर सहयोग पठाएका हौँ ।’

कैदीबन्दीले जम्मा गरेको रकम पालिकाको विपद् राहत कोषको खातामा जम्मा गरिदिएको जिल्ला कारागार झापाका प्रमुख राजेन्द्र गौतमले बताउनुभयो। कारागारमा ७६ जना महिला र एक हजार १४६ जना पुरुष कैदीबन्दी रहेका छन्।

कमेन्टहरु