देश

तोकिएभन्दा बढी भाडा उठाउने व्यवसायी कारबाहीमा

जगत ठाडा मगर
२०७८ असार २४ | बिहान १०:०३ बजे

खोटाङ । खोटाङमा कोभिड–१९ को महामारीका बेला यात्रुबाट तोकिएभन्दा बढी भाडा उठाउने यातायात व्यवसायी कारबाहीमा परेका छन् ।

महामारीका बेला जिल्ला प्रशासन कार्यालयबाट काठ्माण्डौं जाने सवारी पास लिएका बा ४ ख २१२९ नम्बरको बस सञ्चालकले खोटाङबाट काठ्माण्डौं जाने यात्रुबाट निर्धारण गरेभन्दा ३ सय रुपैयाँ बढी भाडा लिएको पाइएपछि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

खोटाङ यातायात प्रालिमा आवद्ध बसका सञ्चालकले दिक्तेलबाट काठ्माण्डौं जाने यात्रुबाट प्रतियात्रु १ हजार २ सय रुपैयाँ भाडा लिनुपर्नेमा १ हजार ५ सय रुपैयाँ भाडा लिएको पाइएपछि बढी भाडा सम्वन्धित यात्रुलाई फिर्ता गराएर सो बसका सञ्चालकलाई सवारी नियम अनुसार १ हजार ५ सय रुपैयाँ जरिवाना गरेर पुःन त्यस्तो गल्ती नदोहोर्याउने शर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक सागर साहले जानकारी दिए ।

यात्रु लिएर काठमाण्डौं जाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएका संयुक्त प्रहरी टोलीले आकस्मिक चेकजाँचको क्रममा बसमा सवार यात्रुबाट तोकिएभन्दा बढी भाडा लिइएको फेला परेको हो ।

जिल्लाबाट अतिआवश्यक कामका लागि काठ्माण्डौं आवत–जावत गर्ने यात्रुलाई आर्थिक भार कम होस् भन्ने लक्ष्यका साथ जिल्ला प्रशासन कार्यालयले प्रतिव्यक्ति १ हजार २ सय रुपैयाँ भाडा निर्धारण गरेर आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै बस चलाउनका लागि सवारी पास उपलव्ध गराएको जनाइएको छ ।

महामारीकाबिचमा सवारी पास पाएका सवारी साधनले यात्राका क्रममा चर्को भाडा असुल गर्ने गरेको यात्रुको गुनासो छ ।

कमेन्टहरु