देश, लुम्बिनी प्रदेश

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको जहाज अवतरण

नवलपुर टुडे
२०८१ कार्तिक २७ | मध्यान्ह ०३:०७ बजे

भैरहवा । कतार एयरवेजको जहाज मंगलबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । कतार एयरवेजले वाइडबडी विमान एयरबस ३३० बाट व्यवसायिक उडान सुरु गरेको छ। मंगलबार दोहाबाट भैरहवा विमानस्थलमा अवतरण भएको कतार एयरवेजलाई ‘वाटर स्यालुट’ दिइएको छ।

कतारको दोहाबाट आएको कतार एयरवेजको वाइड बडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । दोहाबाट ३३ जना यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको विमानबाट एक जना प्राविधिक भैरहवामा ओर्लिएपछि ३२ यात्रुसहित पुनः उक्त विमान यहाँबाट काठमाडौं प्रस्थानको तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए।

उनले कतार एयरवेजले दैनिक दोहा-भैरहवा-काठमाडौं-दोहा रुटमा एउटा उडान गर्ने बताए। उनका अनुसार नियमित तालिका अनुसार उक्त विमान दिउँसो २:४५ बजे भैरहवा अवतरण गर्ने गर्ने र यहाँबाट ४:४५ बजे काठमाडौं प्रस्थान गर्ने तालिका छ। र, त्यहाँबाट साँझ ६:५५ बजे दोहा जाने छ। 

कम्पनीले भैरहवा विमानस्थलबाट उडानका लागि मंसिर १५ गतेसम्म अनुमति लिएको छ। त्यसपछि पनि कम्पनीले भैरहवाबाट नियमित उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको अपेक्षा छ। 

कतार एयरवेजको उडानसँगै भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीको संख्या पाँच पुगेको छ। यसअघि नेपाल एयरलाइन्स, थाइ एयर एशिया, जजिरा एयरवेज र फ्लाई दुबईले भैरहवा विमानस्थलबाट नियमित उडान थालिसकेका छन्।

 
 

कमेन्टहरु