लगातारको वर्षाले नारायणी, दूधकोशी र तमोर नदीमा पानीको बहाब बढ्यो


काठमाण्डौ । गत राती देखीको निरन्तर बर्षाको कारण नारायणी, दूधकोशी र तमोर नदीमा पानीको बहाब बढेको कारण सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
चितवनको माडी क्षेत्रको छरछरे लगायत आसपासका क्षेत्रमा बिहानैदेखि ठूलो पानी परिरहेकाले खहरे खोलामा आकस्मिक बाढी आउनसक्ने अनुमान गरिएको छ । यस्तै, नवलपुरको अरुङ्ग र आसपासको क्षेत्रमा पनि बिहानैदेखि ठूलो पानी परिरहेको छ । ती क्षेत्रका स–साना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने हुँदा तटीय क्षेत्र तथा पहिरोग्रस्त क्षेत्रमा हुनेहरूलाई सतर्क रहन महाशाखाको आग्रह रहेको छ ।
नारायणी नदीमा पनि पानीको बहाव बढ्दै गएको छ । बुढीगण्डकी, त्रिशूली, वाग्मती, मर्स्याङ्दी, कालीगण्डकी, सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर, तिनाउ, कन्काई, कमला लगायतका नदी खोलामा बाढीको जोखिम भएकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।























