जीप दुर्घटना हुँदा कालीकोटमा ६ जनाको मृत्यु

नवलपुर टुडे
२०८१ कार्तिक २५ | मध्यान्ह ०५:०७ बजे

सिमकोट । कालिकोट जिल्लाको पलाता गाउँपालिका– ३ को राडुकाप्रे खोलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्। आइतबार दिउँसो साढे २ बजे बोलेरो जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक गोबिन्द प्रसाद चौधरीले जानकारी दिए।
कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पनि जीप दुर्घटनमा ६ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरे। मृतकको पहिचान भइनसकेको उनले बताए। घाइते भएका १३ जनामध्ये ८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको र बाँकी ५ जना घाइतेको उद्धारको तयारी भइरहेको उनले जानकारी दिए।
जीप पलाता गाउँपालिका– ३ बाट वडा नम्बर ९ तर्फ जाने क्रममा दुर्घटनमा परेको हो। जीप सडकबाट पाँच सय मिटर तल खसेको थियो।























