जलवायु परिवर्तन प्रभावको असर विदेशी पर्यटक चरामा


मोरङ । हिउँद सुरु भएसँगै जाडो छल्न पर्यटक चरा नेपाल आउने गर्छन् । चैत अन्तिमसम्म जाडो छल्न नेपालमा रहने विदेशी पर्यटक चरामा पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव देखिन थालेको छ ।
बेलबारीका जीव विज्ञान जानकार डिल्ली कोइरालाले भने, “उत्तरी ध्रुवमा हिमपात सुरू भएसँगै हिउँदयामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा तालतलैया र नदी आसपासमा हजारौँ पर्यटक चरा बसाइँ सरी नेपालका विभिन्न सिमसार, खोलानालामा आउने गर्दछन् ।” उनका अनुसार जलवायु परिवर्तनका कारण चराले प्रवासनको समय परिवर्तन गर्न सक्छ, जसले तिनीहरूको प्रजनन र अवतरणमा असर पार्न सक्ने साथै चरा बस्ने स्थानको तापमान र वर्षापातको ढाँचा परिवर्तन गर्न सक्छ र तिनीहरुको जन्म स्थानमा असर पार्न सक्छ ।
बर्सेनि करिब एक सय ५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्याङ्क छ । करिब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलङ्कातर्फ जाने गर्छन् । जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदीशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्छन् ।
जाडोयाममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् । अन्य प्रजातिमा सिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् । दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रीष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्छन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ ।
नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि रहन्छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसेमैदान तथा कृषि भूमि हुन् ।























