म्याग्दीको छिसवाङमा बाढीले घर बगाउँदा दुई जनाको मृत्यु, पर्वतमा इन्जिनियरसहित दुई बेपत्ता

जगत ठाडा मगर
२०७८ असार २३ | बिहान ०९:०३ बजे

म्याग्दी । म्याग्दी र पर्वतमा बाढीमा परी दुई जनाकाे ज्यान गएकाे छ। दुई जना बेपत्ता भएका छन्।
म्याग्दीको मंगला गाउँपालिका-५ छिसवाङमा बाढी आएर थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरी बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनाकाे ज्यान गएकाे मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए।
यसैगरी, पर्वतमा बाढीले गाडी बगाउँदा सडक निर्माणमा खटिएका इन्जिनियरसहित दुई जना बेपत्ता भएका छन्। कुस्मा नगरपालिका दोबिल्लामा रहेको सुन्दरे खोलामा आएको बाढीले मंगलबार राति गाडी बगाउँदा उक्त गाडीमा सवार लामा कन्ट्रक्सनका इन्जिनियर राजाराम आचार्य र चालक बेपत्ता भएको प्रहरीले जानकारी दिएकाे छ।






















