देश

चितवनको जंगलमा मृत फेला परेकी सुजिताको शव पोस्टमार्टमका लागी काठमाडौ पठाइयो

जगत ठाडा मगर
२०७८ असार २२ | मध्यान्ह ०१:०३ बजे

चितवन । चितवनको राप्ती नगरपालिकाको जंगलमा फेला पारिएको सुजिता भण्डारीको शवलाई पोस्टमार्टमका लागि काठमाडौं लगिएको छ।

आइतबार भेटिएको शव सोमबार राति नै जिल्ला प्रहरीले काठमाडौं पठाएको थियो। काठमाडौंस्थित शिक्षण अस्पतालमा अहिले शवको पोस्टमार्टम भइरहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी सूर्यबहादुर थापाले स्थानीयको अवरोधका कारण शवलाई पोस्टमार्टमका लागि काठमाडौं पठाउन ढिलो भएको बताए।

‘ट्राफिक जाममा परेका कारण राति नै पठाएको शव काठमाडौं पुग्न ढिलो भएछ,’ उनले भने, ‘पोस्टमार्टमको रिपोर्ट आएपछि थप कुरा पत्ता लाग्ला ।’ सोमबार शव लिएर भरतपुर आउन खोज्दा पूर्व–पश्चिम राजमार्गको झुरझुरेमा रोकेर स्थानीयबासीले प्रदर्शन गरेका थिए।

राप्ती–३ की सुजिता असार ११ गतेदेखि हराएकी थिइन्। आफू अपहरणमा परेको कुरा मोबाइलमार्फत् परिवारलाई जानकारी गराएपछि उनको परिवारले प्रहरीलाई सोही दिन खबर गरेको बताएको छ।

तर प्रहरीले भने सुजिता हराएको समयमै जानकारी पाउँदा पनि अनुसन्धानमा ढिलाइ गरेको र दोषी पत्ता लगाउन नसकेको भन्दै स्थानीय आक्रोशित छन्।
मंगलबार पनि स्थानीयबासीले प्रदर्शनको तयारी गरेको संकेत पाएपछि राप्तीको राजमार्ग क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

सुजिता भण्डारी हराएको विषयमा अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोको टोली चितवन आएको थियो।

कमेन्टहरु