नारायणगढ–मुग्लिन सडकखण्ड : खुल्दै अबरुद्ध हुँदै


चितवन । मौसम सक्रिय भए सँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने क्रम चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार नगर्दै अर्को पहिरो जाने समस्या भइ रहेको छ ।
भरतपुर महानगरपालिका–२९ को सेतीदोभान, इच्छाकामनाको चार किलो, पाँच किलो, १४ किलोलगायतका ठाउँमा पहिराले विगत एक सातायता दुःख दिइरहेको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जीनियर शिव खनालले बताए ।
आज मध्याह्नमा सेतीदोभानमा सडक खुलाउन जुटिनुभएका खनालले लेदो माटो र ढुङ्गा झरिरहेकाले सडक सफा गर्न कठिनाइ भएको जनाए । पछिल्ला वर्षहरूमा पहिरो नखसेको उक्त ठाउँमा यसपालि भने एकाएक पहिरो खसेको हो । सडकबाट झण्डै ८० मिटरमाथि बारी छ । सोही ठाउँबाट पहिरो तल खसेको छ । भिरको ४० मिटर जतिमा पानीको मूल फुटेको छ । त्यहाँबाट पानी बगिरहेकाले पनि पहिरो रोक्न कठिन भएको छ ।
सडक सफा गरेर केही सवारी पार गर्न नपाउँदै फेरि पहिरो खस्ने गरेको उनको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापा सडक खुलाउन मुस्किल भएको बताउँछन् । एक साता यता सो सडकले दुःख दिइरहेको छ ।
थापाले भने, “अब सडक खुल्यो भन्ने बेलामा सेतीदोभानमा पहिरो खस्न शुरु गरेको हो ।” असार १८ गते साँझदेखि खसेको पहिराले निरन्तर दुःख दिइरहेको छ । कतिबेला के हुने हो ? निकै जोखिम बढेको भन्दै उनले भने, “सबैलाई म अनुरोध गर्न चाहन्छु, हिँड्नैपर्ने भएमा वैकल्पिक सडक प्रयोग गर्नुहोस् ।”
जाममा परेकाहरू बिरामी भएका, खान नपाएका र सडकमा उच्च जोखिममा रहेका भन्दै उनले पूर्वबाट आउने सवारीलाई बर्दिबास र हेटौँडाबाट राजधानी छिर्न सुझाव दिएका छन् । सडक पार गर्नका लागि सडक र बाहिर लाम बसेका सवारीको सङ्ख्या तीन हजारभन्दा बढी पुगिसकेको भन्दै उनले विगत तीन दिनदेखि सडक खुल्ने प्रतीक्षामा ठूला सवारी साधन कुरिरहेको जानकारी दिए ।
भरतपुरका खुला ठाउँमा ठूला सवारी साधन रोकेर राखिएको छ । नारायणगढ–मुग्लिन सडकका फराकिला सडक र खुला ठाउँमा पनि सवारी रोकेर राखिएको उनले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सो सडकमा पहिरो झरे लगत्तैदेखि निरन्तर रूपमा सफा गर्ने उपकरण र जनशक्ति परिचालन गरिएको बताए । उनका अनुसार निरन्तर रूपमा पहिरो खसिरहेकाले काममा कठिनाइ भएको हो । काम गर्न सकेसम्म रोकिएको छैन ।
डिभिजन सडक कार्यालय भरतपुर र सुरक्षा निकायले सडक खुलाउनका लागि दिनरात खती रहेका छन् । केही वर्षअघि ठाउँ ठाउँमा पहिरो खसेर समस्या भएपछि पूरै सडकखण्डलाई विस्तार र पहिरो नियन्त्रण कार्य गरिएको थियो । तीन वर्षअघि काम सम्पन्न भएयता अघिल्ला दुई वर्षमा खासै समस्या भएको थिएन ।
यस वर्ष भने मौसम सक्रिय भएसँगै पहिरोले दुःख दिन थालेको हो । यस सडकमा सामान्य अवस्थामा दैनिक १० हजार हाराहारी सवारी साधन आवतजावत गर्ने तथ्याङ्क रहेको छ ।






















