देश

आइतबारदेखिको जवाफी बहस सकियो, अब एमिकस क्युरीको राय बाँकी

जगत ठाडा मगर
२०७८ असार २१ | मध्यान्ह ०२:०३ बजे

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको रिट माथिको सुनुवाइ अन्तिम चरणमा पुगेको छ । आइतबारबाट सुरु भएको जवाफी बहसको २ घण्टा २ मिनेट समय सोमबारका लागि बाँकी थियो । सोमबार तीन वरिष्ठ अधिवक्ताले बहस गरेपछि जवाफी बहसको समय सकिएको हो ।

सोमबार बरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, बद्री बहादुर कार्की र शम्भु थापाले निवेदकको पक्षबाट बहस गरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईका संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सुनुवाइ भइरहेको छ।

अब भने एमिकस क्युरीको बहस बाँकी छ । एमिकस क्युरीमा नेपाल बार एशोसिएशनबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल तथा सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी छन् ।एमिकस क्युरीका लागि भने जम्मा दुई घण्टा समय तोकिएको छ।

सभामुखका तर्फबाट बहस सकिएपछि आइतबारदेखि रिट निवेदनका तर्फबाट जवाफी बहस सुरु भएको हो । रिट निवेदकका तर्फबाट जवाफी बहसका लागि तीन घण्टा समय निर्धारण गरिएकोमा एक घण्टा भने आइतबार नै सकिएको थियो।

कमेन्टहरु