घटना, तस्कर, देश, मुख्य समाचार, विचार/ब्लग, समाचार, सुदुरपश्चिम प्रदेश
बझाङको केदारस्युँमा एकै रात दुई ठूला चोरीका घटना: कुखुरा र बाख्रा फार्ममा तोडफोड र चोरी

बझाङ – बझाङको केदारस्युँ गाउँपालिका–९ ढोढ्याखेत (पौडी बजार) र वडा नम्बर ७ जसुडा कोल्सैन टोलमा गएराति एकपछि अर्को गरी दुई ठूला चोरीका घटनाहरू भएका छन्। यी घटनामा अज्ञात समूहले तीनवटा कुखुरा फार्ममा तोडफोड गरेर २६ वटा कुखुरा चोरी गरेको छ भने, अर्कोतर्फ, एउटा गोठबाट ३५ वटा बाख्रा गायब भएका छन्। यी घटनाले स्थानीय व्यवसायी र पशुपालकहरूमा सुरक्षा सम्बन्धी गम्भीर चिन्ता थपेको छ।
ढोढ्याखेत (पौडी बजार) स्थित कुखुरा फार्ममा भएको चोरीमा, आयुषा पोल्ट्री फर्म एण्ड फ्रेस हाउसका सञ्चालक डम्मरसिंह बोहराले अज्ञात समूहले आफ्नो फार्मको जाली काटेर भित्र प्रवेश गरेको र ७ वटा कुखुरा चोरी गरेको जानकारी दिए। यसैगरी, नजिकैका कृती मल्लको फार्मबाट १४ वटा कुखुरा र नरु ल्वारको लोकल कुखुरा फार्मबाट ५ वटा कुखुरा चोरी भएको छ। चोरीको घटनापछि पीडित सञ्चालकहरूले आफ्नो व्यावसायिक लगानीमा गम्भीर असर परेको बताउँदै, यसले स्थानीय कुखुरा व्यवसायमा नै ठूलो धक्का पुर्याएको बताए।
यस्तै, जसुडा कोल्सैन टोलमा रहेको दिनेश बहादुर धामीको गोठबाट ३५ वटा बाख्रा, जसमा साना पाठा र ठूला बोका समावेश थिए, एकै रातमा गायब भएका छन्। दिनेशका छिमेकीले बिहान ४ बजेतिर बाख्राहरू कराएको आवाज सुनेर धामी परिवारलाई जानकारी दिएका थिए। घटनाको केहीबेरपछि गोठमा गएर हेर्दा बाख्राहरू गायब भइसकेको पाइयो। परिवारजन र स्थानीय बासिन्दाले नजिकका जंगल र बस्तीमा बाख्राहरूको खोजी गरिसकेका छन् तर कुनै पत्तो लाग्न सकेको छैन। धामी परिवारले बाख्रालाई तल गोठमा बाँध्ने र आफूहरू माथिल्लो तलामा बस्ने गरेका थिए, जसका कारण उनीहरूले चोरीको बारेमा थाहा पाउन केही समय लाग्यो।
यी घटनाहरूले बझाङको केदारस्युँ गाउँपालिकामा चोरीका घटनाहरू बढेको आभास गराएको छ। स्थानीयवासी र व्यवसायीहरूले सुरक्षा व्यवस्थालाई थप सुदृढ पार्नुपर्ने माग राखेका छन्। चोरीमा संलग्न समूहको पहिचान भइनसकेको र अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। लगातार भएका यस्ता घटनाहरूले स्थानीय पशुपालन र कुखुरा व्यवसायमा गम्भीर आर्थिक संकट निम्त्याउने संकेत गरेको छ, जसका कारण व्यवसायीहरूमा त्रासको वातावरण बनेको छ।























