देश

राष्ट्र बैंकले करिब १५ अर्ब बराबरको विकास ऋणपत्र जारी गर्दै

जगत ठाडा मगर
२०७८ असार २१ | मध्यान्ह १२:०३ बजे

काठमाडौ । नेपाल राष्ट्र बैंकले असार २२ गते १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। बुधबार निष्काशन हुने विकास ऋणपत्र २०८३ ’ङ’ को अवधि ५ वर्ष रहेको छ।

बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था,गैर बैंक बित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्ने हुन्छ।

इच्छुक खरिदकर्ताका लागि निष्काशित रकमको ८५ प्रतिशत अर्थात १२ अर्ब ७५ करोड रुपैयाँ छुट्याइएको छ भने अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात २ अर्ब २५ करोड छुट्याइएको छ।

इच्छुक लगानीकर्ताले असार २२ गते दिउँसो २ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्नेछ। ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्काशित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिनेछ।

ऋणपत्र यही असार २३ गते नै निष्काशन हुनेछ भने २०८३ असार २३ गते गते साँवा भुक्तानी हुनेछ।
विकास ऋण पत्रका ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।

ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दोश्रो बजार मार्फत खरिद बिक्री गर्न पनि सकिनेछ।

कमेन्टहरु