पछिल्लो समय इलाममा प्याजखेती फस्टाउँदै


इलाम । पछिल्लो समय यस जिल्लामा प्याजखेती फस्टाउँदै गएको छ । कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान व्यावसायिक प्याजखेतीतर्फ आकर्षित भएका हुन् ।
सन्दकपुर गाउँपालिका–३ सुलुबुङका प्रकाश पराजुलीले यस वर्ष ६५ मन (दुई हजार छ सय केजी) प्याज उत्पादन गरे । “प्रतिमन रु दुई हजारका दरले ६० मन बिक्री गरेँ, आफूलाई खान र छरछिमेक, आफन्तकोमा कोसेली पुर्याउँदा पाँच मनजति सकियो”, पराजुलीले भने । गाउँपालिकाको ५० प्रतिशत सहयोगमा पिआई–१७२ जातको दुई सय ग्राम बीउ रोपण गरेका पराजुलीले रु एक लाख २५ हजारको प्याज बिक्री गरेका छन् ।
“जम्मा रु ३२ हजार खर्च कटाएर खुद रु ९३ हजार बचत भयो । नयाँ हाइब्रिट जातको प्याज लगाउँदा यहाँको माटोमा फस्टाउने रहेछ”, उनले भने, “लोकल जातका प्याज त तीन वर्षअघि नै सय मन फलाएको थिएँ । त्यो बेला समयमा बजार पुर्याउन सकिएन, भण्डारण व्यवस्थापन गर्न नसक्दा कुहिएर घाटा भयो । अहिलेचाहिँ बजारको समस्या छैन । बाटो राम्रो छ घरमै पनि आउँछन् व्यापारी ।”
जिल्लामा एक सय १५ हेक्टर जमिनमा प्याजखेती हुने गरेको कृषि ज्ञान केन्द्रसँग तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/८० मा एक हजार आठ सय ७४ मेट्रिक टन प्याज उत्पादन भएकामा आव २०८०/८१ मा एक सय मेट्रिक टन बढी प्याज उत्पादन भएको कार्यालयका कृषि प्रसार अधिकृत जीवन ठाडामगरले जानकारी दिए।
सन्दकपुर–३ कै अर्का किसान विष्णु खनालले १९ मन र माइजोगमाई गाउँपालिका–३ का किसान मोहन सुवेदीले पनि यो वर्ष चार मन प्याज फलाएका छन् ।























