खेलकुद

साफ महिला च्याम्पियनसीप: श्रीलंकाविरुद्ध पहिलो हाफमै नेपालको ४ गोल

नवलपुर टुडे
२०८१ कार्तिक ८ | मध्यान्ह ०६:०७ बजे

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो हाफमै ४–० को अग्रता बनाएको छ। समूह चरणको अन्तिम खेलमा सेमिफाइनलका लागि जित्नुपर्ने खेलमा नेपालको रवाफिलो प्रदर्शन गरेको हो। यदि आजको खेलमा ५ भन्दा बढीको गोल अन्तरले जितेमा नेपाल समूह विजेता बन्नेछ।

सुरुवाती मिनेटदेखि आक्रमक बनेको नेपालले पहिलो हाफमा दबाबमा राख्दै सुरुवाती १५ मिनेटभित्रै तीन गोल गरेको थियो।

सावित्रा भण्डारीले जारी संस्करणको आफ्नो पहिलो खेलमै गोल गर्दा उनले २ असिस्टसमेत गरिन्। नेपालका लागि रेखा पौडेलले २ र सविता राना मगरले १ गोल गरिन्।

खेलको आठौं मिनेटमा सविताको गोलमा नेपालले अग्रता लियो। साम्बाले दिएको आकर्षक पासलाई सविताले सहज गोलमा परिणत गरेकी थिइन्। ११ औँ मिनेटमा साम्बाले डिबक्सबाहिरबाट आकर्षक गोल गर्दै अग्रता दोब्बर बनाउँदा १३ औँ मिनेटमा नेपालका लागि रेखा पौडेलले तेस्रो गोल गरिन्।

३७ औं मिनेटमा नेपालले ४–० को अग्रता लियो। साम्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई रेखाले ६ यार्ड बक्स नजिकबाट गोल गर्दै नेपाललाई पहिलो हाफमै बलियो अवस्थामा पुर्‍याइन्।

समूहमा भुटान ३ खेलमा ७ अंकका साथ शीर्षस्थानमा छ। नेपालको २ खेलमा ४ अंक र श्रीलंकाको २ खेलमा ३ अंक छ। यस खेलमा ५ वा सोभन्दा बढी गोलको अन्तर निकाले नेपाल समूह विजेता बन्नेछ।

कमेन्टहरु