देश

अविरल वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध

जगत ठाडा मगर
२०७८ असार १९ | बिहान ०९:०३ बजे

चितवन । अविरल वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध भएको छ । बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकिए पनि अन्य समय पहिराले सडक अवरुद्ध रहेको छ ।

डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार शुक्रबार साझ चार किलो र पाँच किलोमा ठूलो पहिरो खसेको थियो , उक्त पहिरो पन्छाएर सडक सञ्चालन गरिएको दुई घण्टा नपुग्दै सेती दोभानमा ठूलो पहिरो खसेको उहाँले जानकारी दिए ।

त्यस पछि पुनः चारकिलो र पाँच किलोमा पनि पहिरो खसेको हो । पहिरो रोकिएमा ५ देखि ६ घण्टामा सडक सफा गर्न सकिने भएपनि पानी परिरहेमा दिनभर लाग्न सक्ने खनालको भनाइ छ । चार र पाँच किलोमा पहिलेकै ठाउँमा पहिरो खसेको हो । सडक सफा गर्न तीन वटा लोडर, एउटा एक्साभेटर, एउटा व्रेकर र दुईवटा जेसिबी परिचालन गरिएको छ ।

नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्ने सेती दोभानमा पछिल्ला वर्षहरुमा पहिलोपटक पहिरो खसेको हो । उनले भने, “मैले यो सडकमा काम गरेको ६ वर्ष भयो । पहिलो पटक यहाँ पहिरो खसेको हो ।” सडकको भित्तातर्फ ५० मिटर भन्दा माथिबाट पहिरो झरिरहेकाले सफा गर्न कठिन भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानदाश थापा सो सडक बिहिबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्र सञ्चालन गर्न सकिएको बताउँछन् । मुग्लिन नजिकै चारकिलो र पाँच किलोमा पहिरो खसिरहेकाले समस्या भएको उनको भनाइ छ ।

सेती दोभानमा ठूलो पहिरो खसेपछि थप जटिल बनेको थापाले बताए । सडक अवरुद्ध हुँदा विवाह लगायतका अत्यावश्यक काममा हिंड्ने प्रभावित भएका छन् । ठूलो सङ्ख्यामा सवारीसाधनमा आएका यात्रुहरु सडकमा नै बिचल्ली परेको उनले जानकारी दिए ।

शुक्रबार विवाहका लागि हिडेँका बेहुलाहरुको बिचल्ली परेको सामुहिक तस्बिरहरु सार्वजनिक भएका थिए । यसै गरी पृथ्वी राजमार्गको घोप्टेभिर र कुरिनटारमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । लेदो खसिरहेकाले सडक दुईतर्फी अवरुद्ध भएको थापाले जानकारी दिए ।

कमेन्टहरु