रौतहटमा लगातारको वर्षा पछि वाग्मती नदीमा आएको बाढीले खतरा


सिताराम साह
रौतहट । रौतहटमा लगातारको वर्षा पछि बागमती नदीमा आएको बाढीले खतराको सतह पार गरेको छ।
बागमतीमा पानीको सतह बढेपछि नदी क्षेत्रको गाउँका मानिसलाई सुरक्षित बस्न भनिएको छ । बाढीको सतह भने कम भएको छैन । जिल्ला प्रशासनले पनि पानीको सतहले खतरा पार गरिसकेकाले सतर्क भएर बस्न अनुरोध गरेको छ ।
प्रशासनले बिहानदेखि तटीय क्षेत्रका मानिसलाई नदी छेउमा नजान र सचेत भएर बस्न आग्रह गरेको छ । बागमतीमा पानी बढ्न थालेपछि बाँधको आडैमा बसोबास गर्नेहरु त्रासमा छन् । गत वर्ष बस्ती डुबानमा परे पछि बाँधमा आश्रय लिएर बसेका थिए । अहिले उस्तै अवस्था आउन सक्ने भन्दै स्थानीय त्रासमा परेका हुन् ।
बाढीको बेला नदीमा बगाएर ल्याएका दाउरा टिप्ने, माछा मार्ने, नदी आसपास रहेका खेतमा काम गर्न जाँदा दुर्घटनाको जोखिममा पर्ने भन्दै प्रशासनले जोखिमयुक्त क्रियाकलाप नगर्न अनुरोध गरेको छ । बागमती नदीमा आउने बाढीले गौर, दुर्गाभगवती, गढीमाई, राजदेवी लगायतका नगरपालिकाका दर्जनौं गाउँहरु डुबानमा पार्दै आएको छ ।
बागमतीको बाढीले गत वर्ष बाँधमा क्षति पुर्याएपछि यस वर्ष मर्मत गरिएको छ । आज तिन दिनदेखिको वर्षासँगै बागमती, लालबकैया, चाँदी, झाझ नदीमा पानीले सतह बढेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासनले अनुरोध गरेको छ ।






















