देश

करिब १० वर्षमा सम्पन्न हुन लगेको पुल सामान्य बाढीले भत्कायो

जगत ठाडा मगर
२०७८ असार १८ | बिहान ०८:०३ बजे

काठमाडौं । धनुषा र सिराहाको सीमानामा बनिरहेको कमला नदीको पुलमा गत असार ५ गते तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री उमाशंकर अरगरियाले ठेकदार कम्पनीका प्रतिनिधि (इन्जिनियर) लाई माला लगाएर धन्यवाद दिएका थिए ।

अरगिरियाले ‘पहिलेको ठेकदारले ढिला गर्दा यो क्षेत्रका जनतालाई दुःख थियो, तपाईंहरुले लिएपछि छिटो काम गर्नुभयो, धन्यवाद छ’ भनेका थिए ।

तालीको गडगडाहटकै बीचमा सञ्चारकर्मीले ठेकदारका प्रतिनिधिलाई सोधेका थिए, ‘पुल कहिलेसम्म चल्छ त ? र अहिले नै बाढी आयो भने त समस्या पर्छ होला नि ?

निर्माण कम्पनीका इन्जिनियरले जवाफ दिएका थिए ‘यो वर्षा अगाडि नै सञ्चालनमा आउँछ ।’ बाढीका कारणले समस्या आउने काम लगभग सकिसकेको छ, माथिको काम मात्रै बाँकी रहेको कारण बाढीले काममा कुनै असर गर्दैन,’ ।

तर, बिहीबार कमला नदीमा आएको सामान्य बाढी समेत पुल प्रयोग गर्न नमिल्ने गरि भासियो । १ र २ नम्बर स्पानमा समस्या पर्ने गरी पुल भासिन पुग्यो ।

हुलाकी सडक निर्देशनालयका निर्देशक रोहित बिसुरालका अनुसार भासिएको पुलमा ‘फिनिसिङ’को काम हुँदै थियो । बाढीले पुर्याउन सक्ने असर ध्यानमा राखेर नदी नियन्त्रणको काम भइसकेको थियो ।

पुलको स्ल्याबको माथिल्लो भागमा अन्तिम चरणको ‘वेयरिङ कोट’को काम हुँदै थियो । रेलिङ राख्ने काम पनि लगभग सकिएको थियो । पुलको दुबै छेउसम्मको सडक लगभग तयार भइसकेको हो ।

तर, एकाएक पुल भासिएपछि सिराहा बजार क्षेत्र र धुनुषाको सीमा क्षेत्रका नागरिक फेरि निराश भएका छन् । निर्माण शुुरु भएको १० वर्षसम्म प्रतीक्षा गरेर बनि सक्नै लागेको पुलको स्ल्याब बांगो देखेपछि स्थानीयको मात्रै हैन, सडक विभागका अधिकारीहरुको पनि मन कुँडिएको छ ।

४७० मिटर लामो यो पुल प्रि–स्ट्रेस प्रविधिमा बन्दै थियो । ठेकदार कम्पनी पप्पु लुम्बिनी जेभीले आफैंले डिजाइन गरेर बनाउने गरी आर्थिक वर्ष २०६७/६८ मा ठेक्का लिएको थियो । मुख्य जिम्मेवार पप्पु कन्स्ट्रक्सनले ६ वर्षसम्म पुल बनाउन आलटाल गरेपछि हुलाकी सडक आयोजनाले लुम्बिनी कन्स्ट्रक्सनलाई काम छिटो सक्न ताकेता गरेको थियो ।

कालोसूचीमा राख्ने चेतावनीपछि पप्पुसँग लेनदेनको हिसाब टुंग्याएर लुम्बिनीले अलपत्र परेको पुल आफैंले बनाउने गरी सहमति जनाएको थियो ।

‘लुम्बिनीले जिम्मा लिँदा पुलका पिल्लरहरु लगभग तयार भइसकेका थिए,’ निर्देशक बिसुराल भन्छन्, ‘माथिल्लो भागको काम सबै लुम्बिनीले गरेको थियो, पछिल्लो समय राम्रो काम भएकाले सबै खुसी थियौं ।’

२४ करोड ६५ लाख रुपैयाँ लागतमा बनिरहेको पुलका लागि ठेकदार कम्पनीले १८ करोड रुपैयाँ लिइसकेको छ । बिग्रिएको भाग ठेकदार कम्पनीले आफ्नै खर्चमा बनाउनुपर्ने हुलाकी सडक निर्देशनालय अन्तर्गतको योजना कार्यालय जनकपुरका प्रमुख कृष्णकुमार महतो बताउँछन् ।

‘५ वर्षसम्म कुनै समस्या भएमा ठेकदार कम्पनीले नै बेहोर्नुपर्ने भएकोले हामी उसैलाई जिम्मेवार बनाउँछौं,’ उनले भने, ‘यसमा थप सरकारी स्रोत खर्च हुँदैन ।’

तर, पुल तयार हुनै लागेको देखेर खुसी भएका स्थानीयले फेरि दुःखको सामना गर्नुपर्ने भन्दै चिन्ता व्यक्त गरे । पुल के कारणले भासियो भन्नेबारे बाढी साम्य भएपछि विज्ञ र प्राविधिकले अध्ययन गर्ने महतोले बताए ।

आयोजनाका निर्देशक बिसुरालका अनुसार यो पुल १०० वर्षसम्म आउने बाढीले क्षति नपुर्याउने गरी निर्माण भएको हो । तर, निर्माण भएर सञ्चालनको तयारी हुँदै गर्दा पुल भासिएकाले यसमा प्राविधिक त्रुटि भएको हुनसक्ने उनको अनुमान छ ।

‘बाढीका कारण मात्रै त समस्या आएको नहोला, यसबारे अनुसन्धान हुन्छ,’ उनले भने, ‘बाढी ठूलो थियो, तर त्यतिको बाढीले पुल भासिन नपर्ने हो ।’

कमेन्टहरु