देश

ऐतिहासिक कामका कारण एमाले जनतामाझ झन् लोकप्रिय हुँदै गएको छ: प्रधानमन्त्री ओली

जगत ठाडा मगर
२०७८ असार १६ | मध्यान्ह ०६:०३ बजे

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले सरकारले गरेको ऐतिहासिक कामका कारण जनतामाझ झन् लोकप्रिय हुँदै गएको बताएका छन्।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले ऐतिहासिक रुपमा अभूतपुर्व ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण लोकप्रिय हुँदै गएको दावी गरे।

ओलीले भने “योजनावद्ध दृष्टिकोण सहितको विकासको तीब्र आकांक्षा र त्यस आकांक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिवद्धता र तदनुसारको क्रियाकलापले पार्टी झन् बढी लोकप्रिय हुँदै अगाडि बढिरहेको छ।”

बिमस्टेक, लगानी सम्मेलन लगायत अन्तर्राष्ट्रिय स्तरका सम्मेलन गरेर सही धारणा र विचार अघि सारेका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको उनको दावी छ।

उनले भने “खासगरी सञ्चारमाध्यममा पार्टीका नीतिहरु अनि पार्टी नेतृत्वको धज्जी उडाउने, गाली बेइजती, अपमान गर्ने र सरकारले गरेका राम्रा उपलब्धीहरुको चर्चा नगर्ने लगायतका थुप्रै प्रयासहरु चलिरहे, प्रचारात्मक ढंगले। यस्ता कुराले जनतामा वितृष्णा र नैराश्यता पैदा भएको छ। जनता दुखी छन् र निराश छन्।”

प्रधानमन्त्री ओलीले सरकारको नेतृत्वको दुई वर्षपछि पार्टीभित्रैबाट पदीय आकांक्षाका लागि अस्वस्थता सुरु भएको दाबी गरे।

उनले भने “सरकारको नेतृत्वको दुई वर्ष पुरा भइसकेपछि पर्टीभित्रैबाट राजीनामा माग्न हतारो। अरुको अविश्वास प्रस्ताव राख्ने हैसियत नभएको स्थितिमा राजीनामाको बबण्डर मच्चाउन खोजियो र अस्थिरता ल्याउने खेल सुरु भयो। त्यो खेल अब विरोधीहरुसंगको साँठगाठमा गयो। जे भेटिन्छ त्यसको प्रयोग गर्ने, जे प्रयोग गरेर झटारो हान्न सकिन्छ, पार्टीलाई कमजोर पार्न सकिन्छ त्यो गर्ने। यस खालका प्रयास हुँदै आएको बताए ।”

पार्टी भित्रैबाट अनावश्यक झमेला झिक्ने, संसदलाई प्रभावकारी हुन नदिने, विधेयकहरु बन्न नदिएर अल्झाउने काम भएपछि आफूले संसद विघटन गरेको उल्लेख गर्दै ओलीले प्रतिनिधिसभा पुनर्स्थापना पछिको पहिलो दिनको संसद बैठकमा भएका क्रियाकलापको पनि चर्चा गरे।

कमेन्टहरु