सरस्वती प्रधान पुगिन् मानव अधिकार आयोग, रुपा सुनारलाई कार्बाहीको माग


काठमाडौ । सञ्चारकर्मी रूपा सुनारलाई थरकै कारण कोठा नदिएको आरोप लागेकी काठमाडौंको बबरमहलकी घरबेटी सरस्वती प्रधान राष्ट्रिय मानव अधिकार आयोग पुगेकी छन् । उनी रूपामाथि कारबाहीको माग गर्दै हस्ताक्षरसहित बुधबार आयोग पुगेकी हुन्।
उनले आफूले छुवाछुत तथा विभेदकारी व्यवहार नगरे पनि षड्यन्त्रमुलक तरिकाले फसाइएको भन्दै कारबाहीको माग गर्दै निवेदन दिएकी हुन्। उनले रूपालाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छन्।
असार १ गते सुनारलाई थरकै कारण कोठा नदिएको भन्दै रूपाले प्रहरीमा उजुरी दिएसँगै प्रधानलाई प्रहरीले ३ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । प्रधानले निषेधाज्ञाको समयमा पिसिआर रिपोर्टबिना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरी बेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएकोमा आफ्नो स्वतन्त्रता विपरीत भएकोले कारबाही गरिनु पर्ने बताएकी छन्।
‘निषेधाज्ञाको आदेश उल्लंघन गरी र बिना पिसिआर रिपोर्ट खुल्लेआम आवतजावत गरी महामारी फैलाउने मानव विरोधी अपराध गरेको,’ निवेदनमा उल्लेख गरेकी छन्,’ रूपालाई कोठा आवश्यकता नै नरहेको भए पनि आपराधिक कार्य गर्न कोठा खोज्न आएको बहानाबाजी गरी मेरो मञ्जुरी बेगर मेरो फोन रकर्ड गरी सोही रेकर्ड, प्रमाण सिर्जना गरी मेरो विरुद्ध छुवाछुतको उजुरी दिई गैरकानुनी एवं मेरो व्यक्तिगत जीवनको स्वतन्त्रता विपरीत हुनेगरी पूर्वाग्रहीपूर्वक थुनाएको हो।’प्रधानले रूपामाथि सञ्चारकर्मी प्रमाणपत्रको दुरूपयोग समेत गरेको आरोप लगाएकी छन्।
घरधनी श्रीमान् र सासु भएको भन्दै उनले आफूलाई घर भाडामा लगाउने अधिकार नभएको स्पष्ट पारेकी छन्।
आफूलाई घरधनी भनी झुठा आरोप र जालसाजी गरी मानव अधिकार हनन् गरिएको उनको निवेदनमा उल्लेख गरिएको छ । ‘घरधनी पति मुकुन्द प्रधान र सासुआमा भएकाले मलाई घर भाडामा राख्ने अधिकार नभए पनि मलाई घरधनी भनी झुठा आरोप लगाई जालसाची गरी मेरो मानव अधिकारको हनन गरेको हो। मैले जातीय छुवाछुतको वादविवाद नै नगरेकोमा पनि निज रूपा सुनार आफैंले म कामीको छोरी हो भनी आफैंले आफ्नो जात देखाई मलाई विवाद गरी मानव विरोधीको अपराध गरेको निवेदनमा भनिएको छ ।























