ओली-मोदी भेट: ओलीले पाएन्न भारत भ्रमणको निम्तो


न्युयोर्क । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पुगेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र क्वाडको बैठकमा सहभागी हुनका लागि न्ययोर्कमा रहेका भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कको लोट्टे प्यालेस होटलमा भेटवार्ता भएको छ।
स्थानीय समयानुसार आइतबार साँझ साढे पाँच बजे भएको भेटका अवसरमा नेपाल-भारत आपसी चासो र हितका विषयमा कुराकानी भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन्। यद्यपि, उक्त बैठकमा ओलीले भारत भ्रमणको निम्ता भने पाउन सकेनन्। यसअघिका प्रधानमन्त्रीलाई भारतले नियुक्त हुने वित्तिकै भारत भ्रमणको निम्ता दिने गरेपनि ओलीलाई भने मोदीले भारत भ्रमणको निम्ता दिएका छैनन्।
एक्समा मोदीले लेखेका छन्,’प्रधानमन्त्री केपी ओलीसँग न्युयोर्कमा निकै राम्रो भेट भयो। भारत-नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ प्रगाढ बनाएर अघि लैजान चाहन्छौं। हाम्रो संवाद ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दाहरूमा केन्द्रित थियो।’ उनले ओलीसँगको भेटका तस्बिर साझा गर्दै लेखेका छन्।
फेसबुकमा निकै सक्रिय रहने गरेका केपी शर्मा ओलीले मोदीसँगको भेटका बारेमा केही उल्लेख गरेका छैनन्। संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन गएका ओली न्युयोर्कमा रहेको अवसरमा मोदीसँग निकै प्रयासपछि होटलमा साइडलाइन वार्ता भएको थियो।
नेपाली पक्षको लामो प्रयास र गृहकार्यपछि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटको वातावरण बनेको नेपाली प्रतिनिधिमण्डलले जानकारी दिएका छन्। तर अपेक्षित रुपमा सफल भने यो भेट मानिएन्। भेटमा दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीहरू थिए।
भेटका लागि नेपाली पक्षबाट धेरै अघिदेखि गृहकार्य भएको थियो। भारतीय पक्षबाट शुक्रबार सकारात्मक सन्देश पाएपछि भेटको वातावरण बनेको थियो। ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्रीसँग पहिलोपटक भेट भएको हो। यसअघि थाइल्यान्डमा तय भएको बिमस्टेक बैठकमा ओली र मोदीबीच भेटवार्ता हुने भनिए पनि बैठक नै स्थगित भएको थियो।
लगत्तै भारत भ्रमणमा रहेका बेला परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन्। प्रधानमन्त्री ओलीको भारतसँग सम्बन्ध तिक्त रहेको चर्चाकाबीच भएको भेटवार्तालाई अर्थपूर्ण मानिएपनि खासै सकरात्मक भने हुन नसकेको बताइएको छ।
त्यस्तै न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले भुटानी समकक्षी छिरिङ तोब्गेलाई भेटे। त्यस्तै ओलीले कुवेतका राजकुमार शेख सबाह अलसँग पनि भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओलीले मंगलबार फिनल्याण्डका राष्ट्रपति एलेक्जेण्डर स्टब र सोमाका प्रधानमन्त्री फियम नाओटी माटा आफासँग पनि दुई पक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ।























