नेपाल बैंकले गर्यो क्रेडिट कार्ड सेवाको शुभारम्भ


काठमाडौं : नेपाल बैंकले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । यस सुविधाअन्तर्गत क्रेडिट कार्ड सेवाको न्यूनतम सीमा रु.२० हजारदेखि अधिकतम सीमा रु.५ लाख कायम गरिएको नेपाल बैंकले जनाएको छ ।
भिसा इन्टरनेशनल सँगको आवद्धतामा सञ्चालनमा ल्याइएको क्रेडिट कार्ड सेवाको प्रयोगबाट पिओएस टर्मिनल, एटिएम टर्मिनालिटि तथा अनलाइन प्रणाली मार्फत विभिन्न वस्तु तथा सेवा भुक्तानीमा प्रयोग गर्न सकिनेछ ।
स्वीकृत कर्जा लिमिटको १० प्रतिशतसम्म यस बैंक तथा भिसा इन्टरनेशनलमा आवद्ध बैंकहरुको एटिएम टर्मिनलबाट नगदभुक्तानी समेत लिन सकिनेछ । यो कार्डको प्रयोग नेपाल लगायत भारत र भुटानमा समेत प्रयोग गर्न सकिने भएकाले यसको उपयोगले लक्षित वर्गको भुक्तानी प्रणालीमा सहजता पुर्याउन सक्ने विश्वास गरिएको छ।
भर्चुअल विधिबाट गरिएको कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीले यस बैंकका ग्राहक निर्मल प्रधानलाई क्रेडिट कार्ड हस्तान्तरण गर्दै क्रेडिट कार्ड सेवाको शुभारम्भ गरे ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षले क्रेडिट कार्ड सेवाको प्रारम्भले डिजिटल प्रविधिमार्फत बैंकको ग्राहक सेवामा नेपाल बैंक थप एक कदम अगाडी आउन सफल भएकोमा खुशी व्यक्त गर्दै यो सेवा प्रारम्भका लागि बैंक व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद तथा बधाई ज्ञापन गरे।






















