रुपा सुनारविरुद्ध भ्रामक समाचार लेख्ने अन्लाईन बन्द गराउन प्रेस काउन्सिल नेपालले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार


काठमाडौ । प्रेस काउन्सिल नेपालले रूपा सुनारविरूद्ध भ्रामक समाचार लेख्ने ६ वटा अनलाइन बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।
काउन्सिलले मंगलबार नेपालभित्र उक्त अनलाइन प्रकाशन/प्रशारण हुन नसक्ने गरी प्रबन्ध मिलाउन भन्दै पत्राचार गरेको हो । काउन्सिलले खबरमाला, कालापानी पोष्ट, मिडियाट्वान्टी पोष्ट, ग्यालेक्सी सेभेन एक्सप्रेस, आजको नयाँ, साँझा मिडिया डटकमलाई बन्द गराउन भनेको छ ।

आफूविरूद्ध अफवाह फैलाएको भन्दै सुनारले काउन्सिलमा ९ मिडियाविरूद्ध उजुरी दिएकी थिइन्। सो उजुरी आइतबार दर्ता भएको थियो । ती अनलाइनले अफवाह फैलाइ जातजाति, धर्म वा सम्प्रदाय बीचको सु-सम्बन्धमा खलल पुर्याउने र जातीय छुवाछुत एवम् लैंगिक भेदभावलाई दुरूत्साहन गरेको निबेदनमा उल्लेख थियो।

जातीय दुर्व्यवहारको विरोध गर्दा युरोपियन युनियनबाट उचालिएको, पैसा खाएको लगायत भ्रामक सूचनासहित अफवाह फैलाइएको सुनारले उल्लेख गरेकी थिइन् । कोठा खोज्न जाँदा थरकै कारण घरबेटीले कोटा नदिएको भन्दै उनले सरस्वती श्रेष्ठविरूद्ध उजुरी दिएकी थिइन्। घरबेटी श्रेष्ठ रिहा भइसकेकी छिन् ।






















