देश

देश समृद्धिको मूल आधार नै कृषि क्षेत्र : कृषिमन्त्री नेम्वाङ

जगत ठाडा मगर
२०७८ असार १५ | मध्यान्ह ०१:०३ बजे

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री वसन्तकुमार नेम्वाङले धानको उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर हुन सकेमात्रै देशमा समृद्धि प्राप्त हुने बताएका छन् ।

मंगलबार अठारौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै मन्त्री नेम्वाङले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र यसमा पनि धान बाली प्रमुख भएकाले धान बालीको उत्पादनमा वृद्धि भएमात्रै देशका समृद्धि हासिल हुने बताएका हुन् ।

कृषिको उत्पादन तथा उत्पादकत्व बढाएर आयातलाई प्रतिस्थापन गरी आत्मनिर्भर बन्न सक्नुपर्ने र देशको समृद्धिको मूल आधार नै कृषि क्षेत्र भएको उनले बताए ।

नेम्बाङले भने, ‘अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याउने कृषि हो। कृषिमा उत्पादन र उत्पादकत्व, खाद्य र पोषण सुरक्षादेखि लिएर यसलाई विशिष्टिकरण ढंगले अगाडी बढाएर, आयातलाई प्रतिस्थापन गरेर आत्मनिर्भरतातर्फ उन्मुख भएन भने देशमा समृद्धि प्राप्त गर्न सकिदैनँ ।

समृद्धि प्राप्त गर्ने हाम्रो राष्ट्रिय आकांक्षाको मूल आधार कृषिको विकास हो । त्यसमध्येको एउटा आधार धानबालीको उन्‍नयन र विकास हो ।’

मन्त्री नेम्वाङले नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको व्यापकता र आवश्यकतालाई ध्यान दिनु आवश्यक रहेको बताए। सरकार धानबालीको उत्पादकत्व बढाउने, आधुनिकीकरण गर्दै भण्डारण र बजार व्यवस्थापनको लागि स्पष्ट नीति बनाइरहेको उनले उल्लेख गरे ।

धान बालीको विकासका लागि कुनै नीतिगत कुरा बनाउनुपर्ने भए मन्त्रालय तयार रहेको पनि उनले बताए । उनले भने, ‘नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको अहमता, व्यापकता र आवश्यकतालाई अत्यन्तै ध्यान दिनु जरुरी छ ।

परम्परा र सांस्कृतिक रुपमा, महोत्सवको रुपमा, धानको उत्पादकत्व बढाउने कुरा, आधुनिकीकरण गर्दै उचित भण्डारण र व्यवस्थापन गर्दै लाने कुरामा स्पष्ट नीतिहरु बन्दैछ।’

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले चालु आर्थिक वर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन गर्न सफल भएको उल्लेख गरे।

मौसमले साथ दिएको र रासायनिक मल पनि समयमा नै उपलब्ध भएको भन्दै उनले आगामी वर्ष ६० लाख मेट्रिक टन धान फलाउनुपर्ने बताए । उनले कृषकको खेतबारीमै पुगेर धान सम्बन्धी अध्ययन, अनुसन्धान तथा कृषि सम्बन्धी शिक्षा पुर्‍याउनुपर्नेमा जोड दिए।

सरकारले रासायनिक मलको कारखाना खोल्ने कामलाई अगाडी बढाएको र कृषिको विकास तथा विस्तारका लागि स्थानीय तहले कार्यक्रमहरु केन्द्रित गर्नुपर्ने पनि उनले बताए ।

कमेन्टहरु