दर्शनका लागि दाउन्ने मन्दिर !


नवलपुर । नवलपुरको चर्चित धार्मिक क्षेत्र मध्येको एक हो दाउन्ने मन्दिर । विनय त्रिवेणी गाउँपालिकाको पहाडमा रहेको दाउन्ने देवी मन्दिर परिसरबाट नवलपरासी जिल्लाको विभिन्न भाग र वस्तीहरु देख्न सकिन्छ । भारतीय सीमामा रहेको ऐतिहासिक धार्मिक तीर्थस्थल त्रिवेणी भैसालोटन, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको हरियाली जङ्गल, महाभारत पर्वत शृङ्खलामा रहेका देवचुली र बरचुलीको सुन्दर चुचुरो पनि दाउन्नेबाट देख्न सकिन्छ ।
दाउन्ने पर्वत क्षेत्रलाई पौराणिक युगमा त्रिकुट पर्वत भनिने र त्यस स्थानमा वाल्मीकिलगायतका ऋषिमुनिले तपस्या गर्ने गरेको जनविश्वास छ ।यहाँ कैलाश बाबा धाम, बौद्ध गुम्बा, लक्ष्मी नारायण, चैत्य, चैतन्य गुम्बा, धर्मशाला, वृद्धाश्रम, छात्रावास, विद्यालय, विवाहमण्डप, ध्यानकुटी, भिक्षुणी आश्रम र अन्य जीर्ण मठमन्दिरहरू छन् ।
यहाँ बडादशैं र चैतेदशैंमा भक्तहरूको ठूलो भीड लाग्ने गर्दछ । शिवरात्रि र साउने सोमबारहरूमा समेत यहाँ भक्तहरूको घुइँचो लाग्छ । यहाँ चितवन, नवलपरासी, नवलपुर, रुपन्देही, पाल्पा, कपिलवस्तु, तनहुँ, स्याङ्जा र गुल्मी लगायतका जिल्लाबाट दर्शनार्थी आउने गर्दछन ।























