कांग्रेस पाल्पाका पूर्वसभापति, प्रजातन्त्र सेनानी एवम नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा कोइरालाको निधन


पाल्पा । नेपाली कांग्रेस पाल्पाका पूर्वसभापति ठाकुरचन्द्र (विप्र) कोइरालाको बिहीबार निधन भएको छ । प्रजातन्त्र सेनानी एवं नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा कोइरालाको ८५ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । घरमा आराम गरेर बसेका कोइरालाको तानसेन नगरपालिका–६, बर्तुङमा निधन भएको परिवारले जनाएका छन् । कोइराला २०४८ देखि २०५२ सालसम्म कांग्रेस पाल्पाको सभापति थिए ।
उनी संगठन निर्माणका क्रममा वि.सं. २०१५ सालमा युवा कांग्रेस पाल्पाको अध्यक्ष बनेका थिए । कांग्रेसमा सादगी नेताको रुपमा परिचित उनी प्रजातन्त्रको पुन:स्थापनाका निम्ति वि.सं. २०१७ देखि ०४६ सालसम्म भएका विभिन्न आन्दोलनहरुमा नेतृत्वदायी भूमिका खेलेका थिए । कोइरालाले ०४२ सालको सत्याग्रहमा समेत सक्रिय सहभागिता जनाएका थिए । आन्दोलनका क्रममा पटक–पटक जेल जीवन बिताएन । उनी निडर, प्रखर, अग्रणी र बफादार भूमिकामा रहेका थिए ।
स्वर्गीय कोइरालाका एक छोरी र तीन छोरामध्ये दुई छोरा र श्रीमतीको निधन भइसकेको छ । कोइरालाको निधनबाट पार्टीले अग्रज र अनुभवी अभिभावकलाई गुमाएको कांग्रेस पाल्पाले जनाएको छ । जिल्ला सभापति हिमालदत्त श्रेष्ठले विज्ञप्ति निकाल्दै कोइरालाको निधनमा दु:ख व्यक्त गर्दै दुई दिन पाल्पा तानसेनस्थित कांग्रेस पार्टी कार्यालय बन्द रहने र पार्टीको आधा झुकाइने बताए ।
कोइरालाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि जिल्ला समिति, नगर समितिका पदाधिकारी, सदस्यहरु निवास गएका थिए । उनको पार्थिव शरीरलाई कालीगण्डकी नदीको राम्दी घाटमा बिहीबार नै दाहसंस्कार गर्ने कार्यक्रम रहेको वडाध्यक्ष सागरमान महर्जनले बताए ।
यसैबीच, कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी तथा पाल्पा कांग्रेसका पूर्वसभापति कोइरालाको निधनमा दुःख व्यक्त गरेका छन् । कांग्रेस पाल्पाका पूर्वसभापति ठाकुरचन्द्र (विप्र) कोइरालाको निधनको खबरले आफूलाई स्तब्ध र दुःखित बनाएको पार्टी सभापति देउवाको भनाइ उदृत गर्दै मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनहरूमा कोइरालाले निर्वाह गरेको सक्रिय भूमिका पार्टीमा सदा स्मरणीय रहने विज्ञप्तिमा उल्लेख छ ।























