गण्डकी प्रदेश

बेनी–जोमसोम–कोरला सडकमा दुर्घटनाको जोखिम

रासस
२०८१ भदौ १२ | बिहान ०८:०५ बजे

म्याग्दी, भदौ १२ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ।

कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडकमा खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको हो।

स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सब इन्जिनियर सोहनजंग कार्कीले गत वर्षदेखि सृजना भएको सिरुबारीको पहिरोले दुःख दिइरहेको बताए। आकाशबाट पानी पर्नेबित्तिकै पाखोबाट ढुङ्गा, लेदो र गेगरसहितको पहिरो खसेर सडकमा थुप्रिन्छ। हिलोमा सवारीसाधन फस्ने, गुडिरहेका सवारीमाथि ढुङ्गा खस्ने, यात्रीलाई चोटपटक लाग्ने जोखिम छ। ‘करिब एक किलोमिटरमाथिको पाखो बगेको छ’, उनले भने, ‘खसेको पहिरो पन्छाउँदै सावधानी अपनाएर यातायात सञ्चालन गरिएको छ।’

यही भदौ ४ गते पोखराबाट बेनी हुँदै जोमसोमतर्फ जाँदै गरेको ग१ख ७७१७ नम्बरको बस सिरुबारीको पहिरोमा गुडिरहेको अवस्थामा ठूलो ढुङ्गा खसेर च्यापिँदा दुईजना यात्रा घाइते भएका थिए। पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन र जंगल नष्ट भएको छ। सिरुबारी क्षेत्रमा करिब पाँच सय मिटर सडक पहिरोले छियाछिया बनाएको छ। मुस्ताङ जिल्ला, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई पहिरोका कारण जोखिम र सास्ती भएको छ।

सिरुबारी, महभिर, बैसरी, गुइँठेभिरलगायत ठाउँमा पहिरोको उच्च जोखिम भएकाले रातको समयमा यात्रा नगर्न र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनाले अपिल गरेका छन्। ती ठाउँमा खस्ने पहिरो पन्छाएर यातायात सञ्चालन गर्न सडक विभागको डोजर, लोडर, ब्याकुहोलोडर तयारी अवस्थामा राखिएको बेनी(जोमसोम(कोरला सडक आयोजनाका प्रमुख ध्रुवकुमार झाले जानकारी दिए।

पहिरो, कटान र बाढीको जोखिम भएको ठाउँमा दीर्घकालीन समाधानका लागि अध्ययन गरेर भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना माग गरेको उनले बताए। 

कमेन्टहरु