ऐतिहासिक भगवती जात्रा अवलोकन गर्न राष्ट्रपति पौडेल आज पाल्पा आउनु हुदै


पाल्पा, भदौ ११ । जितगढी युद्धको सम्झनामा आज रणउजिरेश्वरी भगवतीको रथयात्रा (भगवती जात्रा) निकालिँदै छ। दिउँसो साढे १२ बजे रथ उठाउने साइत जुरेको छ। जात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउँदैछन्। उनी बिहान ११ बजे तानसेन आइपुग्ने पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए।
जात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजाआराधना गर्ने कार्यक्रम तय भएको छ। त्यसलगत्तै उनले तानसेनस्थित आर्मी ब्यारेक दि फेमस महिन्द्र दल गणमा खाना खाने छन्। यसपछि पाल्पाबाट निर्वाचित जनप्रतिनिधि लगायतका सरोकारवाला निकायसँग भेटघाट गर्ने कार्यक्रम तय भएको प्रजिअ काफ्लेले बताए। नेपाली सेनाले अंग्रेज सेनालाई परास्त गरेको सम्झनामा विजयोत्सवको रूपमा हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट भगवती जात्रा निकाल्ने गरिन्छ।
विसं. १८७१/७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालीन कर्णेल उजिर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो। भगवतीको भाकल गरी युद्धमा गएका कर्णेल उजिरसिंहले विजय प्राप्त गरेपछि खुशीयालीमा भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए।
१८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो। साम्राज्य विस्तारवादको नेतृत्व गरेको अंग्रेज फौजलाई परास्त गरेको खुशीयालीमा विजयोत्सवसहित भगवतीको रथयात्रा निकाल्ने चलन छ। जात्राको यो वर्ष २०५औँ संस्करण हो। जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदा दिएको छ।























