देश

मधेस प्रदेशका नेता साहलाई संसदीय दलको नेताबाट राजीनामा दिन प्रचण्डको निर्देशन

नवलपुर टुडे
२०८१ भदौ ८ | मध्यान्ह ०१:०५ बजे

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेश प्रदेशका नेता भरत साहलाई राजीनामा दिन निर्देशन दिएका छन् । नेकपा माओवादी केन्द्र मधेश प्रदेशका संसदीय दलका नेता साहलाई दुई महिनाभित्र दलको नेताबाट राजीनामा दिन निर्देशन दिएका हुन् । 

मधेश प्रदेशको अर्थमन्त्री भएको बेला साहले व्यापक मनमौजी गर्दै आफू खुसी योजना बाँडेको, संसदीय दलका सदस्यहरुलाई समेट्न नसकेको तथा पटक–पटक केन्द्रको निर्णय विपरीत सरकार ढाल्न चलखेल गरेको आरोप खेप्दै आएका उनलाई प्रचण्डले राजीनामा दिन निर्देशन दिएको बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले जानकारी दिए ।  ‘करिब तीन हप्ता अर्थमन्त्री हुँदा बजेट बनाउने क्रममा भरतजीले व्यापक अनियमितता गर्नुभयो । गुटबन्दीमा लाग्नु भयो, एकलौटी गर्नुभयो । एक दुई जना बाहेक उहाँले कसैको कुरा सुन्नु भएन,’ एक नेताले भने भने ।

नेकपा माओवादी मधेश प्रदेशका दुई तिहाइ प्रदेशसभा सदस्यहरुले संसदीय दलका नेता भरतप्रसाद साहलाई पदबाट हटाउन गत असार २५ गते अविश्वास प्रस्ताव पेश गरेको थियो । दलको नेतृत्वको विषयमा आफूहरूको विश्वास गुमेको कारणले ६ जना सांसदले साहविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए ।

मधेस प्रदेशमा माओवादीका ९ जना प्रदेश सभा सदस्य छन् । तीमध्ये प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारीले हस्ताक्षर गरी साह विरुद्धको अविश्वास प्रस्ताव उपनेता समिर भट्टराई समक्ष पेश गरेका थिए । काठमाडौंमा भएको बैठकबाट साह संसदीय दलका नेताबाट राजीनामा दिए पश्चात संसदीय दलको नेता चयन गरिने भएको स्रोतको भनाई छ । 
 

कमेन्टहरु