बलिराम नाका कपडा तस्करीको हब बन्दै, प्रहरी प्रशासन रकममा लिप्त


उमेश दुबे
बारा । बाराको बलिरामपुर नाका हालको समयमा कपडा तस्करहरूका लागि हबमै परिणत हुन पुगेको छ । तस्करहरूले स्थानीय प्रहरीदेखि प्रदेश प्रहरीसम्म मासिक मोटो रकमको नजराना बुझाए पश्चात् तस्करहरूका लागि बलिरामपुर नाका हबमै परिणत हुन पुगेको हो ।
बाराको नामूद तस्करको रूपमा चिनिने सुरेन्द्र नामकले नाम परिवर्तन गरि तस्करी कार्यलाइ तिब्रता दिएको बुझिएको छ । सीमा नाका स्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीको सन्युक्त टोलिलाइ मासिक लाखौ रूपैया नजराना बुझाए पश्चात् मात्र गत बिहिवारदेखी तस्करी कार्य सुचारू गरेको पाइएको हो । भारतको रक्सौलबाट शहदेवा महदेवा नाकामा पिकअपकै माध्यमले ल्याएर भन्डारण गर्ने र रातिको समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्यूटी मिलान गराएर मात्र अबैध तरिकाले नेपाल भित्रयाउने गरेको श्रोतले जनाएको छ ।
बाराको बलिरामपुर नाकाबाट अबैध तरिकाले नेपाल भित्रयाइएको कपडा प्रहरीकै निगरानीमा बिरगंज स्थित ट्रान्सपोर्टसम्म पुग्ने गरेको श्रोतले दाबी गरेको छ । बिहिवार राती करिब १२ बजे तिर बलिरामपुरको नहर सडक हुँदै नेपाल भित्रयाइ पर्साको प्रहरी चौकी नगवाको सहयोगमा एक ट्रान्सपोर्टसम्म पुर्याइएको प्रहरी श्रोतले नै जनाएको छ । तस्करीको समयमा प्रहरीले लाइन क्लियर गरे पश्चात् मात्र तस्करीको मालसमान ट्रान्सपोर्टसम्म पुर्याइएको श्रोतको दाबी रहेको छ ।
बारा जिल्लाको स्थानीय युनिट सङ्गै जिल्लासम्म मासिक नजराना बुझाइ सकिएकै कारण तस्करीको मालसमान रोक्न नसकिएको स्थानीय प्रहरी श्रोतले जनाएको छ । उनका अनुसार जिल्लाबाटै आदेश आए पश्चात् तस्करी कार्य सुचारू पनि गरिएको थपे । उनका अनुसार बलिरामपुर नाकाबाट मुन्ना, शेखावत लगायत दर्जनौ तस्करहरू कपडा तस्करी गर्न सकृय रहेको समेत स्विकार गरे ।
अबैध तरिकाले नेपाल भित्रिएको कपडा ट्रान्सपोर्टकै माध्यमले मुलूकको विभिन्न ठाउहरूमा पुर्याउने गरेको बताइन्छ । यस बिषयमा नेपाल प्रहरी संगठनका प्रमुख लगायत सीमामा खटिने सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुखको ध्यान पुग्न अति अवाश्यक देखिन्छ ।























