परराष्ट्रमन्त्री राणा देउवा र भाजपाका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेबिच भेटघाट


काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेबिच भेटघाट भएको छ ।
भारत भ्रमणमा रहेकी मन्त्री राणालाई प्रमुख चौथाइवालेले उनी बसेको दिल्लीको साकेटस्थित शेराटन होटलमा गएर बुधबार भेटेका हुन्। भेटमा प्रमुख चौथाईवालेले मन्त्री भएकोमा कांग्रेसका नेतृ समेत रहेकी राणालाई बधाई तथा शुभकामना दिएका छन् । भेटघाटमा दुई देशबिचको सम्बन्धलगायतको विषयमा छलफल भएको बताइएको छ ।
गत वर्ष मन्त्री राणाले प्रमुख चौथाइवालेलाई राखी बाँधेकी थिइन् । प्रमुख चौथाइवालेलाई राखी बाँधेर भारतसँग सांस्कृतिक सम्बन्ध विस्तार गरेको भनि खुब चर्चा भएको थियो । यसपटक पनि राखीकै समयमा भारत भ्रमणमा जाँदा राखी बाँध्ने अनुमान गरिएको थियो । यसपटक राणाले राखे नबाँधेको त्यहाँस्थित स्रोतले जनाएको छ । मन्त्री राणा भदौ २ गते भारत भ्रमणमा गएकी थिइन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस जयशंकरलगायतसँग भेटघाट गरेकी छिन् ।
उनी मंगलबारदेखि स्वास्थ्य उपचारमा रहेकी छिन् । मन्त्री आरजु बिहीबार नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ ।























