कपिलवस्तुमा ९ लाख भन्दा बढीको अवैध कपडा बरामद


कपिलवस्तु । चाडबाडको समय सुरु भएसँगै कपिलवस्तुमा तस्करहरूको सक्रियता तीव्र भएको छ । रक्षाबन्धन र तीज जस्ता चाडहरू नजिकिँदै गर्दा तस्करहरूले भारतबाट विभिन्न अवैध मालसामानहरू नेपाल भित्र्याउन थालेका छन्। सीमा क्षेत्रमा तस्करी बढेसँगै सुरक्षाकर्मीहरूले निगरानी कडा बनाएका छन्।
रात्रिकालीन गस्तीका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ठूलो मात्रामा भारतबाट अवैध रूपमा भित्र्याइएका कपडा बरामद गरेका छन्। कृष्णनगरका दुई छुट्टाछुट्टै स्थानबाट ९ लाख बढीको कपडा बरामद गरिएको हो।

सुराकीका आधारमा कृष्णनगर वडा नम्बर-२ स्थित बैंक रोडमा बेवारिसे अवस्थामा ६ लाख बढीको १९ बोरा कपडा फेला परेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए। उक्त कपडामा १७७ पिस लेडिज सुट, ८१ पिस साडी, ६३ थान काँचो कपडा, र ८ थान टावेलहरू रहेका छन्।
त्यस्तै, सशस्त्र प्रहरीले कृष्णनगर नगरपालिका वडा नम्बर-५ बगहीबाट दुईवटा भारतीय नम्बरका मोटरसाइकलसहित ३ लाख १ हजार ४ सय बराबरको अबैध कपडा बरामद गरेको छ।
बरामद कपडामा ३७ पिस साडी, ८१ पिस कुर्ता सुरूवाल, र ७ पोका सुर्ती समावेश छन्। सशस्त्र प्रहरी उपरीक्षक शैलेन्द्र न्यौपानेका अनुसार तस्करहरूले यूपी ५६ ई ५९८३ र यूपी ४७ एफ ५५१२ नम्बरका मोटरसाइकलमा कपडा ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरीलाई देखेर मोटरसाइकल छाडेर भारततर्फ भागेका थिए।
बरामद गरिएका सामानहरू कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ। कपिलवस्तुमा तस्करी नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए।























