मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

बाजुराबाट रिफर गरिएका बिरामीलाई काठमाण्डौं नि:शुल्क उपचार गरिने

उमेश रोकाया
२०८१ साउन २६ | बिहान ०१:०४ बजे

बाजुरा, श्रावण २६ । जिल्ला अस्पताल बाजुरा बाट रोगको पहिचान भई रेफर गरिएका बिरामीहरुको केएमसी अस्पताल काठमाण्डौंमा निशुल्क उपचार गरिने भएको छ । सांसद डा. सुनिलकुमार शर्माको बिशेष पहलमा बाजुरा सहित ९ जिल्लाका बिरामीहरुको निशुल्क उपचार गर्ने प्रबन्ध मिलाएको नेविसंघ केन्द्रीय सदस्य दिनेश शाहीले जानकारी दिए । जिल्ला अस्पातलमा भर्ना भई रोगको पहिचान भएका र अन्यत्र उपचारका लागि रेफर भएका बिरामीहरुको केएमसी अस्पतालमा निशुल्क उपचार गरिने नेविसंघ केन्द्रीय सदस्य दिनेश शाहीले बताए । बाजुराका त्यस्ता बिरामीहरुले नेपाली कांग्रेसका नेता जनक गिरी सभापति रामसिंह रावल नेविसंघ केन्द्रीय सदस्य दिनेश शाही र त्रिवेणी नगर प्रमुख कर्ण थापा र महिला नेत्री राधिका सिंहले समन्वय गरेर भाद्र २४ गते केएमसी अस्पताल काठमाण्डौंमा पुग्नुपर्ने बताइएको छ।

बिरामीहरुको अप्रेशन र भर्ना हुँदा अस्पातलको चार्ज निशुल्क हुनेछ भने औषधी र अन्य सामानको व्यवस्था भने बिरामी आँफैले गर्नुपर्नेछ । दुर्गमका नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले निशुल्क उपचार सेवा सञ्चालन गरिएको सांसद शर्माले बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत पैसाको अभावमा उपचार गर्न नपाएका बिरामीहरुलाई लक्षित गरेर यो अभियान सञ्चालन गरिन लागेको उनले बताए । बाजुरासहित सुदूरपश्चिमका बझाङ, बैतडी र डोटीका बिरामीहरुको समेत निशुल्क उपचार गरिने सांसद शर्माले बताए । बझाङका बिरामीहरुको भदौ १८ गते, बाजुराका बिरामीहरुको भदौ २४ गते र डोटीका बिरामीहरुको असोज ४ गते निशुल्क उपचार गरिने जनाइएको छ। गुल्मी, ओखलढुंगा, दैलेख, रामेछाप र खोटाङका बिरामीहरुको समेत केएमसीले निशुल्क उपचार गर्ने प्रबन्ध मिलाएको सांसद शर्माले बताए । यसअघि सांसद शर्माको पहलमा केएमसीले गत बैसाखमा पनि स्वामीकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकाको संयुक्त रुपमा बृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । उक्त शिविरबाट रोग पहिचान भई अप्रेशन गर्नुपर्ने अवस्था भएका बिरामीहरुको केएमसी अस्पताल काठमाण्डौंमा निशुल्क उपचार गरिएको थियो ।

कमेन्टहरु