बाढी/पहिरो

पहिरोले एकै दिन १२ को मृत्यु

पत्रपत्रिकाबाट
२०८१ साउन २३ | बिहान ०७:०४ बजे
मनुसन सुरु भएयता बाढीपहिरोमा परेर १ सय ६५ जनाको मृत्यु

बागलुङ, गुल्मी । बागलुङ र गुल्मीका तीन ठाउँमा मंगलबार बिहान पहिरोले घर पुर्दा १२ जनाको मृत्यु भएको छ । बागलुङमा ४ बेपत्ता छन् भने दुवै जिल्लामा १२ जना घाइते छन् । बागलुङको बडिगाड–१० आरुपाटामा पहिरोले घर पुरिँदा ७८ वर्षीय जोगबहादुर बुढा, ७ वर्षीया मालती बुढा, ११ वर्षीया सीता पुन, ८ वर्षीय अमल बुढा, सोही घरमा आश्रय लिन पुगेकी छिमेकी सञ्जु विककी ६ महिने छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको मृत्यु भएको छ । 

पहिरोले एकै दिन १२ को मृत्यु

गुल्मीको मुसिकोट नगरपालिका–१ बिसौनामा पहिरो पुरिएकाको उद्धार गर्दै स्थानीय र सुरक्षाकर्मी ।

यो समाचार कान्तिपुरमा छ, पहिरोले घर गोठसहितका संरचना बगाएर दर्लिङ खोलामा पुर्‍याएको छ । १४ वर्षका यमलाल विक, १० वर्षका मनोज बुढा, ३ वर्षका आरुस थापा र ११ वर्षका सुमन विक पहिरोमा परी बेपत्ता छन् । स्थानीय ४६ वर्षीया संगीता बुढा, ५९ वर्षीया सुमित्रा विक, ३२ वर्षीया सीता थापा र ४२ वर्षीय मंगलसिं बुढा गम्भीर घाइते भएका छन् ।

रातभरको वर्षात्ले आरुपाटा गाउँका धेरै घरमा सानातिना पहिरो खसेको र बाढी पसेको थियो । बिहानसम्म वर्षात् नरोकिएपछि सुरक्षित ठाउँ खोजेर छिमेकीहरू बुढाको घरमा आश्रय लिन पुगेका थिए । त्यही समयमा ठूलो पहिरो खसेर उनीहरू बसेकै घर पुरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए । प्रत्यक्षदर्शीका अनुसार घटनास्थलदेखि माथि रहेको कुलोमा बाढी पसेपछि ढुंगामुढाले पानी थुनिएको र त्यसले धार परिवर्तन गरेर पहिरो खसेको थियो ।

pahiro badigad baglung 0782024020403प्रतिकूल मौसमले उद्धारमा खटिएका स्थानीय, सेना र प्रहरीलाई समस्या भएको बागलुङ प्रहरी प्रमुख एसपी ऋषिराम कँडेलले बताए । घाइतेको उद्धारका लागि उडेको सेनाको हेलिकोप्टर घटनास्थल पुग्न नसकेर बागलुङ फर्काएर सेनाको २३ नम्बर बाहिनीमा राखिएको छ । घटनास्थलमा स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी पुगेर घाइतेको प्राथमिक उपचार गरेका थिए । हेलिकोप्टर नआउने भएपछि स्ट्रेचरमा बोकाएर उनीहरूलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थय केन्द्र पठाएको वडाध्यक्ष वीरेन्द्र बुढाले बताए । घटनास्थल सदरमुकामदेखि १ सय किमि पश्चिममा पर्छ । त्यहाँबाट स्ट्रेचरमा बोकेर मध्यपहाडी लोकमार्गको छेउमा लैजान पनि तीन घण्टा लाग्छ । घटनास्थल जाने झोलुंगे पुलमा पनि पहिरोले क्षति पुगेपछि उद्धारकर्ताले घुमाउरो बाटो जानुपरेको थियो ।

मंगलबार बिहानै वडा–९ बलघाँसमा पनि पहिरोमा परी १५ वर्षीय विधान परियार र २४ वर्षीया गंगा बस्नेतको पनि मृत्यु भएको छ । घर पछाडि आएको बाढी पन्छाउन गएका बेला उनीहरूलाई पहिरोले पुरेको थियो । वर्षात्पछि बढेको खोला र पहिरोले आरुपाटा र बलघाँसमा सयौं रोपनीको धान खेत पनि पुरेको छ ।

सडकको माटोले पहिरो

सडक खन्दा थुप्रिएको माटोसहित झरेको पहिरोले दुई घर बगाउँदा गुल्मीको मुसिकोट नगरपालिका–१ बिसौनामा ४ जनाको ज्यान गएको छ । दुई जना घाइते छन् । पहिरोमा परी ६७ वर्षीय हुकुम विक, उनका छोरा ४६ वर्षीय ओमबहादुर (गोरे), हुकुमकी बहिनी ६६ वर्षीया मसुरी विक र मसुरीकी नातिनी अढाई वर्षकी रियन्सीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर रामकुमार केसीले बताए । मसुरीका छोरा ३१ वर्षका विष्णु विक र बुहारी २३ वर्षकी मुना विक घाइते छन् ।

gulmi pahiro photo 3 0782024020359स्थानीय रनबहादुर विकका अनुसार मुसिकोट–१ थामदेखि खार जाने सडक खन्दा थुप्रेको माटोले पहिरोको रूप लिँदा हुकुम विक र विष्णु विकको घर बगाएको हो । ‘खार जोड्न तीन–चार वर्षअघि बनाएको बाटो पोहोर डोजरले सोहोरेको थियो,’ उनले भने, ‘त्यही बाटो खन्दा उपल्लो घुम्तीमुनि जम्मा भएको माटो बगेर तल्लो घुम्तीभन्दा तलको घर बगायो ।’ घटनापछि पुगेको प्रहरी र स्थानीयले घाइतेको उद्धार गर्नुका साथै पुरिएका शव निकालेको थियो । घाइतेलाई उपचारका लागि पाल्पा पठाएको छ ।

पहिरोले २ घरको बीचमा रहेको एउटा गोठ पनि बगाएको छ । हुकुमको परिवार अर्कै घरमा बसोबास गर्थ्यो । लगातारको वर्षापछि गोठमाथिबाट पहिरो जाने सम्भावना देखेर हुकुम र उनका छोरा ओमबहादुर गोरुलाई सुरक्षित स्थानमा सार्न गोठमा पुगेका थिए । ‘एउटा गोरु सारेर अर्को गोरु फुकाइ नसक्दै पहिरोले बगाएछ,’ छिमेकी रनबहादुरले भने, ‘घरमा भएका २ जनालाई उछिट्याएर बाहिर फालेछ, गोरु फुकाउने र नजिकैबाट हेर्नेलाई बगायो ।’ हुकुमकी श्रीमती फूलमतीले खाना गाएर जानु भन्दाभन्दै हिँडेका श्रीमान् र छोराले ज्यान गुमाएको भन्दै बिलौना गरिन् ।

पहिरोले बगाएका घरहरू त्यस क्षेत्रका सुरक्षित मानिएका हुन् । यसअघि ठूलो पानी पर्दा नजिकैको कटौंजेका ३/४ परिवार ज्यान जोगाउन ती घरमा पुग्थे । तर मंगलबार तीमध्येकै घर बगाएको हो । २०६३ सालमा पनि त्यहाँ नजिकै गएको पहिरोले २ वटा घर बगाउँदा हुकुमबहादुरकी आमा र भाईसहित ६ जनाको मृत्यु भएको थियो । ‘त्यसपछि तत्कालीन वडाले घर बनाउन उपलब्ध गराएको जग्गामा उनीहरू बसेका हुन्,’ मुसिकोट–१ का वडाध्यक्ष विष्णुध्वज खातीले भने, ‘सुरक्षित भनिएको घर नै पहिरोले बगायो ।

हुकुम र ओमबहादुर घर बनाउने मिस्त्री हुन् । उनीहरूले त्यस क्षेत्रका धेरै घर निर्माण गरेर सुरक्षित बनाए । ‘आफ्ना हातले कति धेरैका घर बनाइदिएर सुरक्षित ओतमुनि राखे तर आज उनीहरूकै घर पहिरोले बगायो र मृत्युवरण गर्न पुगे,’ मुसिकोट–१ खारका रमेश जीसीले भने, ‘हाम्रो पनि २ वटा घर उनीहरूले नै बनाइदिएका हुन् ।’ गत असार १६ मा पनि गुल्मीको मालिका गाउँपालिका–६ अर्जेमा सडकको भलले घरमाथिबाट पहिरोको रूप लिँदा पुरिएर ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली, जेठी बुहारी २६ वर्षीया सीता, नातिनी ८ वर्षकी सपना र ८ महिनाकी अर्की नातिनी विपनाको मृत्यु भएको थियो ।

मनसुनमा १६५ जनाको मृत्यु

यस वर्ष मनुसन सुरु भएयता बाढीपहिरोमा परेर १ सय ६५ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३, कोशी प्रदेशमा २५, मधेश प्रदेशमा ६, वाग्मती प्रदेश (उपत्यकाबाहेक) मा ३०, गण्डकी प्रदेशमा ५०, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको हो । बाढीपहिरोमा परी ५१ जना बेपत्ता छन् । १ सय ९८ जना घाइते भएका छन् ।

बाढीपहिरोमा परेका १ सय १० जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । बाढीपहिरोका कारण २ सय ६१ घर, ९५ गोठ, ४३ पुल, २ विद्यालय र २ सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीको तथ्यांक छ । विपद्‍का घटनाबाट ४ हजार २ सय ३८ घरपरिवार विस्थापित भएका छन् । यसबीचमा ७ सय ४३ वटा पशु चौपाया मरेका छन् ।

कमेन्टहरु