गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु, दुई जना घाइते

इन्द्रजित नेपाली
२०८१ साउन २२ | मध्यान्ह ०५:०४ बजे

गुल्मी । गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु र दुई जना घाइते भएका छन् । जिल्लाकाे मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनामा पहिरोले दुई वटा घर पुर्दा ४ जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए ।
पहिरोमा मृत्यु हुनेहरुमा ४८ वर्षका गोरे बिक, ६७ वर्षका हुमुक बिक, साढे दुई वर्षका रियन्सा बिक र ६६ वर्षकी मसुरी बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएर मुना बिक र बिष्णु बिकलाई स्थानीयले उद्धार गरेर नजिकैको स्वास्थ्य चौकीमा पठाएको प्रहरी निरीक्षक केसीले बताए ।मंगलबार बिहान घरमाथिबाट लेदो सहितको पहिरोले घर पुरिएको हो । बिष्णु बिक र हुकुम बिकको परिवार त्यही घरमा बस्दै आएका थिए ।























