राजनीति

एउटै कम्युनिस्ट पार्टी निर्माण गर्न जुटौँ: वामदेव गौतम

जगत ठाडा मगर
२०८१ साउन १२ | मध्यान्ह ०२:०४ बजे

काठमाडौं । नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेपालका सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्नुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा उनले मुलुकमा शक्तिशाली कम्युनिस्ट पार्टी चाहिएको उल्लेख गरे । त्यसका निम्ति सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्नुपर्नेमा उनले जोड दिए ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायत नेताहरू सहभागी उक्त कार्यक्रममा गौतमले कम्युनिस्ट पार्टी फुट्दै जाँदा समाजवाद निर्माण गर्न नसकिने बताए । सबै कम्युनिस्ट पार्टी एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो ।

उनले केही कम्युनिस्ट पार्टीबीच भिन्नता भए बसेर हल गर्न सकिने पनि बताए ।

कार्यक्रममा वामदेव गौतमको भनाइ पढ्नोस्–
मेरो अनुरोध के छ भने फेरि पनि कम्युनिस्ट पार्टीहरू एकताबद्ध गरौँ । पुष्पलालको जन्मशताब्दी समारोह आयोजना गर्नुको एउटा मुख्य कर्तव्य प्रस्ताव पारित होस् यहाँबाट– अब हामीले पार्टी एकता गर्छौँ, एउटै पार्टी निर्माण गर्ने कोसिस गर्छौँ । जस्तोसुकै मतभिन्नता भएको बेला पनि मिलेर हिँड्न सकिएको छ । यस्ता सभा, समारोहमा भन्नु नभन्नु भने पनि बाहिर गएपछि सँगै बस्ने, हाँस्ने, खेल्ने, चिया खाने गरेका छौँ आजभन्दा अगाडि । अब त्यसो भएर यहाँ हामीलाई एउटा शक्तिशाली कम्युनिस्ट पार्टी चाहिएको छ कि छैन ? शक्तिशाली कम्युनिस्ट पार्टी चाहिएको छ भने कुनै पार्टीबाट निर्णय गरेर त्यो अभियानको रूपमा सञ्चालन गर्नुपर्छ । एउटै पार्टी बन्नुपर्छ । भएको पार्टी फुट्दै जाने, फुट्दै जाने अनि एउटाले समाजवादी क्रान्ति गर्ने, अर्को के क्रान्ति गर्ने ? अर्कोले के क्रान्ति गर्ने हो ? हुन्छ त्यसरी क्रान्ति ? मतभिन्नता छ भने सँगै बसेर हल गर्न सकिन्छ । त्यसो भएर म यहाँ प्रस्ताव राख्छु– तपाईंहरूलाई मन्जुर छ भने अलिखेर तपाईंहरूले उठेर नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्नको निम्ति हामीले आज पुष्पलाल प्रतिष्ठानबाट आयोजना गरिएको यो जन्मशताब्दी कार्यक्रममा हामीले एउटा प्रस्ताव पारित गरौँ । नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न गर्नेछौँ र एउटै कम्युनिस्ट पार्टी बनाएर समाजवाद निर्माण गर्नेछौँ भनेर एउटा प्रस्ताव तपाईंहरूले पारित गरिदिनुस् । न्युज एजेन्सी नेपाल

कमेन्टहरु