माओवादी केन्द्रले छाड्यो कोशी प्रदेश सरकार


विराटनगर । कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन भने माओवादीले कायमै राखेको छ । ‘हामीले सरकार मात्रै छाडेका हौं’, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘एमालेलाई दिएको समर्थन फिर्ता लिएका छैनौं ।’
कोशी प्रदेशसभामा माओवादीका १३ सांसद छन् । माओवादीले कांग्रेसको साथ छाडेर अचानक एमालेसँग गठबन्धन बनाएपछि गत वैशाख २७ मा संविधानको धारा १६८ (५) बमोजिम एमालेको नेतृत्वमा सरकार गठन भएको थियो ।
एमालेले गत महिना कांग्रेससँग नयाँ समीकरण बनाएपछि माओवादी प्रदेश सरकारबाट बाहिरिन बाध्य भएको हो । माओवादीका मन्त्रीहरूले शुक्रबार मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाएका छन् । सरकारमा माओवादीका गणेश उप्रेती भौतिक पूर्वाधार, नारायणबहादुर मगर वन, वातावरण तथा पर्यटन, राजेन्द्र कार्की स्वास्थ्यमन्त्री थिए भने बन्दना झाँगड वन, वातावरण तथा पर्यटन राज्यमन्त्री थिइन् ।
माओवादी बाहिरिएपछि सरकारमा कांग्रेस प्रवेश गर्दै छ । तर कसको नेतृत्वमा सरकारमा सामेल हुने भन्नेबारे कांग्रेसले अझै टुंगो लगाएको छैन । कांग्रेस कोशीका प्रमुख सचेतक गोपाल तामाङले सरकारको नेतृत्व आलोपालो गर्न र मन्त्रालयहरूको भागबन्डा टुंग्याउन एमालेसँग शुक्रबार छलफल सुरु भएको जानकारी दिए ।
कांग्रेसमा मन्त्रीका आकांक्षीहरू धेरै छन्, त्यसमाथि संस्थापन पक्ष, शेखर कोइराला र कृष्णप्रसाद सिटौलाको समूहबीच भागबन्डा गुट मिलाउनुपर्नेछ । सांसद अमृत आर्याल या भीम पराजुलीमध्ये एकको नेतृत्वमा कांग्रेस सरकारमा सामेल हुन सक्ने एक सांसदले जनाए ।























