मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

एम्बुलेन्स सञ्चालनपछि अकालमै ज्यान गुमाउनुपर्ने स्थिति कम हुँदै

उमेश रोकाया
२०८१ साउन ११ | बिहान १०:०४ बजे

बाजुरा, साउन ११ । एम्बुलेन्स सञ्चालनपछि अकालमै ज्यान गुमाउनुपर्ने स्थिति कम हुँदै गएको छ। मानव सूचकांकमा देशकै ७७ औं स्थानमा बाजुरा पर्छ। विकासका दृष्टिले यो जिल्ला निकै पछि रहेको छ । जिल्लामा ९ वटा स्थानीय तह रहेका छन् । पछिल्लो समय स्थानीय तह भइसके पछि विकासले केही गति लिएको देखिन्छ। खासगरी यहाँको स्वास्थ्य क्षेत्र सन्तोषजनक रुपमा विकसित भइरहेको छ। स्थानीय सरकारहरुले स्वास्थ्य सेवालाई प्राथमिकता दिइरहेका छन्।स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिदैँ स्थानीय सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको देखिन्छ। नागरिकको नजिकको सरकार भनिने स्थानीय तहबाट गरिने विकास गतिविधिले नै बढी प्रभाव पारेको देखिन्छ।

यसरी जिल्लामै स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरिरहेको स्थानीय तह हो हिमाली गाउँपालिका।बाजुराकै सर्वाधिक विकट भनेर चिनिने र बाजुराकै सबैभन्दा धेरै भाग ओगटेको हिमालीले स्वास्थ्य क्षेत्रको विकासको गति चुम्न लागेको आभाष नागरिकले गरिरहेका छन् । साविकका रुगिन र बिच्छ्या गाविसले २०७४ सालयता विकासमा निक्कै फड्को मारेको छ । साविकको रुगिन बिच्छ्याँ गाविसमा दुईवटा मात्र स्वास्थ्यचौकी थिए भने हिमाली गाउँपालिका बनेपछि हाल १३ वटा स्वास्थ्यचौकी छन्। सुत्केरी गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा र अन्य बिरामीका लागि तेल खर्च बिरामीको र एम्बुलेन्स पालिकाले उपलब्ध गराउँदा स्वास्थ्य क्षेत्रमा पनि पहुँच पगेको छ । हिमाली गाउँपालिकाले यो सेवा २०७७ सालमा सुरु गरेको हो।

गाउँपालिकामा रहेका विपन्न, गरिब, जेष्ठ नागरिक, असहाय, अपांगता भएका, दलित, पिछडिएका वर्ग, गर्भवती, घाइते बिरामीलाई विशेष छुटका साथ सेवा दिने गरी एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । गाउँपालिकाको १० लाख ५० हजार रुपैयाँमा एम्बुलेन्स खरिद गरेको हो। निःशुल्क एम्बुलेन्स सेवा पाएपछि यहाँका नागरिकलाई निकै सहज भएको छ । कुनैपनि नागरिक बिरामी हुँदा खबर गर्ना साथ घरमै एम्बुलेन्स आइपुग्छ । भौगोलिक विकटताका बाबजुत एम्बुलेन्स सेवा निकै प्रभावकारी रुपमा चलिरहेको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताएका छन। हिमालीमा सात वटा वडा रहेका छन् । ती मध्ये चार वटा वडामा सडक सञ्जालको पहुँच पुगेको छ। ती वडाका नागरिकले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गरिरहेका छन् । बाँकी तीन वटा वडामा भने सडकको पहुँच नभएका कारण समस्या छ । तर ती वडाका नागरिक बिरामी परेमा रोड पुग्ने स्थानसम्म एम्बुलेन्स पुग्छ र सम्बन्धित क्षेत्रबाट बिरामीलाई स्टेचरमा ल्याइन्छ । अनि एम्बुलेन्सले सम्बन्धित पायक पर्ने स्वास्थ्य संस्थामा लैजान्छ। नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रवाह भइरहेको छ। गर्भवती तथा सुत्केरी महिला एम्बुलेन्स सेवाको प्रमुख प्राथमिकतामा रहेका छन् ।

वडा नम्बर १, २ र ३ मा भने सबै क्षेत्रमा सडक नपुगेका कारण अलि समस्या भइरहेको छ । यो सेवाबाट अपांगता भएका व्यक्ति, विपन्न, गरिब तथा आर्थिक स्थिति कमजोर भएका र सीमान्तकृत समुदायका नागरिक लाभान्वित भएको अवस्था छ । यसैगरी राष्ट्रपति महिला उत्थान बचाउन सफल कार्यक्रमबाट पनि हिमालीका महिलाहरुलाई उद्धार गरिएको हो । यो आर्थिक वर्षमा दुई जना महिलालाई हेलिकप्टरमार्फत उद्धार गरेर ज्यान भएको ह। स्वास्थ्य संस्थासम्म पुग्नको लागि घण्टी हिड्नुपर्ने अवस्थाका कारणले विगतमा धेरैको ज्यान जाने गरेको थियो । विशेष गरेर यस्तो अवस्था बाट सुत्केरी हुने महिलाहरु बढी प्रभावित हुन्थे । अहिले भने नागरिकहरु धेरै लाभान्वित भएका छन् । बिरामीलाई डोकोमा राख्दै दिनभर बोकेर प्राथमिक स्वास्थ्य चौकी कोल्टीमा उपचार गराउनुपर्ने बाध्यता हटेको छ।

दुर्गम ठाउँका स्थानीय गाउँपालिकाले गाउँमै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएपछि खुसी छन् । यसअघि गर्भवती महिला घरमै सुत्केरी हुन नसकेपछि तथा अन्य कुनै बिरामी भएपछि हिमाली गाउँका स्थानीयवासी डोकोम बोकेर कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा उपचार गर्ने बाध्य थिए। यातायातको सुविधा नभएर अकालमै ज्यान गुमाउनुपरेका याहाँका स्थानीयहरूको समस्या अन्त्य भएको छ। गर्भवती महिला, दीर्घरोगी, दुर्घटनामा परेर घाइते भएकाहरूले एम्बुलेन्स सञ्चालनपछि अकालमै ज्यान गुमाउनुपर्ने स्थिति कम हुँदै गएको हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन ।

कमेन्टहरु