देश

दलितलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी हिरासतबाट छुटिन, अदालतले मुद्धा नै लिइएन

जगत ठाडा मगर
२०७८ असार ९ | मध्यान्ह ०३:०३ बजे

काठमाडौ । दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी बबरमहल निवासी सरस्वती प्रधान हास्दै जेलबाट छुटेकी छिन् । जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको हो ।उनको मुद्धा अदालत पुग्न योग्य नभएको भन्दै सरकारी वकिल कार्यालयले नै उनीबिरुद्धको मुद्धा खारेज गरेको छ ।

प्रहरीले सरकारी वकिल कार्यालय पेश गरेको फायल अदालत जान योग्य नरहेको भन्दै वकिल कार्यालयले फायल प्रहरीलाई नै फिर्ता पठाएपछि थुनामुक्त गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले नवलपुर टुडेलाई जानकारी दिए ।

प्रहरीले प्रधानलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो । सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा प्रहरीलाई नै फिर्ता गरेको छ । त्यसपछि पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत, काठमाडौंले घरबेटी सरस्वती प्रधानलाई छाड्न आदेश दिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहले सरकारी वकिलको आदेश र जिल्ला अदालतको जानकारीमा प्रधानलाई छोडिएको बताए । प्रधानलाई तीन दिनअघि महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट गएको प्रहरीले उनको घरबाट पक्राउ गरेको थियो ।

इमेज टेलिभिजनबाट प्रशारित कार्यक्रम उकाली ओरालीका प्रस्तोता रूपा सुनारले आफूमाथि जातीय विभेद भएको भन्दै जाहेरी दिएकी थिइन् । मुद्धा दायरपछि मिलोमतो गर्नु भनेको फेरी अर्को विभेदका लागि तयार हुनु हो भन्दै उनले कुनै हालतमा मुद्धा फिर्ता नलिने र मिलेमतो नगर्ने दावी गरेकी थिइन् ।

यद्यपी यस विषयमा उनले थप प्रतिक्रिया अहिलेसम्म दिएकी छैनन् ।

कमेन्टहरु