बागमती प्रदेश

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिदै

नवलपुर टुडे
२०८१ साउन ६ | बिहान ०७:०४ बजे

सहमतिअनुसार केन्द्रमा कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनिसकेको छ। प्रधानमन्त्री ओली पनि आइतबार नै प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारीमा छन्। केन्द्रमा भएको सहमतिअनुसार बागमती प्रदेश सरकारबाट एमाले असार २४ गते समर्थन फिर्तासहित बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत लिनुपर्ने बाध्यता आइलागेको हो। उनी माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका हुन्।

कुनै ‘उथलपुथल’ नभएमा उनले विश्वासको मत नपाउने निश्चित छ। विश्वासको मत गुमाएसँगै जम्कट्टेल मुख्यमन्त्रीको कुर्सीबाट प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पुग्नेछन्। उनको पक्षमा ३० सांसद मात्र छन्। ११० सदस्यीय बागमती प्रदेशसभामा विश्वासको मतका पक्षमा ५६ सांसद हुनुपर्छ। प्रदेशसभामा सरकारको पक्षमा नेकपा माओवादी केन्द्रका २१, नेकपा एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई गरी ३० जना सांसद छन्।

प्रदेशसभामा ३७ सांसद भएको कांग्रेस, २७ सांसद भएको एमाले र १३ सांसद् भएको राप्रपाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने औपचारिक निर्णय गरिसकेका छन्। बागमती प्रदेशमा कांग्रेस र एमाले मिल्दा मात्रै पनि बहुमत पुग्छ २०७९ पुस २५ गते प्रदेश सरकारको नेतृत्वमा पुगेका जम्कट्टेलले तीनपटक विश्वासको मत लिएर सरकार जोगाए पनि पछिल्लोपटक दुई ठुला दलको नयाँ समीकरण बनेकाले उनले मुख्यमन्त्री गुमाउने पक्काजस्तै छ।

कमेन्टहरु