मधेश प्रदेश

मधेश प्रदेशमा कांग्रेसका ४ र लोसपाका १ मन्त्रीले लिए शपथ

नवलपुर टुडे
२०८१ साउन ३ | मध्यान्ह ०८:०४ बजे

धनुषा । मधेशमा नेपाली कांग्रेस र लोसपाका मन्त्रीहरुले शपथ लिएका छन् । मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार साँझ मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् । प्रदेश प्रमुख भण्डारीले अर्थ न्त्रीमा रौतहटका सुनिल यादव, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा पर्साका जनार्दन सिंह क्षेत्री, ऊर्जा सिँचाई तथा खानेपानीमन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायातमन्त्रीमा सर्लाहीका कौशल किशोर रायलाई पद तथा गोपनियताको शपथ गराएकी छिन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी प्रमुख सचेतक रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीको शपथ लिइन् । शिक्षा तथा संस्कृति मन्त्री रहेका नेकपा एमालेका राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ । कांग्रेसले एक साताअघि नै मन्त्रीको नाम टुंगो लगाएको थियो । जनमतले अर्थ मन्त्रालय आफूसँगै राख्न चाहेपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । कांग्रेसले अर्थ मन्त्रालय नपाउने देखेपछि मधेश सरकारलाई दिएको समर्थन फिर्ताको तयारी थालेको थियो । बिहीबार प्रदेश पार्टी कार्यालय जनकपुरमा संसदीय दलको बैठक बसेको थियो । संसदीय दलको बैठक बसिरहेकै बेला अर्थसहित ४ मन्त्रालय कांग्रेसलाई दिन जनमत सहमत भएको थियो ।

सरकार विस्तार र मन्त्रालय बाँड्ने विषयमा जनमत पार्टीका अध्यक्ष सिके राउतले गठबन्धन दलका नेताहरुसँग बिहीबार छलफल गरेका थिए । मधेशमा जनमतका सतिशकुमार सिंह नेतृत्वको सरकारमा एमाले, कांग्रेस र लोसपा सहभागी भएको छ । गठबन्धनमा रहेको लोसपाले २ मन्त्रालयको अडान राखेको थियो । मुख्यमन्त्री सिंहले १ मन्त्रालयमात्रै दिन सक्ने बताएपछि लोसपा अध्यक्ष महन्थ ठाकुरले रानी शर्मा तिवारीलाई मन्त्रीको लागि नाम सिफारिस गरेका हुन् । सरकारमा सहभागी हुने र मन्त्री पठाउने विषयमा केन्द्रबाटै निर्णय भएको लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतोले बताए ।

कमेन्टहरु