घटना

त्रिशूलीमा खसेका बस भेटिएनन्

नवलपुर टुडे
२०८१ असार २९ | बिहान ०६:०३ बजे

‘बसमा यात्रु कति थिए भन्ने अझै पुष्टि भएको छैन। गौरतर्फ जाँदै गरेको बसमा सवार रहे पनि उछिट्टिएर बाहिर निस्किएका र पौडिएर ज्यान जोगाएका तीन जनाको भनाइलाई आधार मान्ने हो भने ३५ जनाको हाराहारीमा यात्रु थिए। वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको गाडीमा २४ जना सवार रहेको भनिए पनि पुष्टिचाहिँ हुन बाँकी छ,’ सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले भने।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट एसएसपी माधव पौडेलको कमान्डमा ७० जनाको टोली खोजी तथा उद्धारमा शुक्रबार बिहानैदेखि खटियो। तर साँझसम्म केही पनि फेला पार्न नसकिएको पौडेलले बताए। बगाएर तल पुर्‍याएको हुन सक्ने आशंकामा देवघाटमा समेत खोजी गरिएको तर केही पनि पत्ता नलागेको एसएसपी पौडेलले बताए।

साँझ भइसकेको र त्रिशूलीमा जलसतह उच्च भएकाले विभिन्न समस्या निम्तिन सक्ने भन्दै शुक्रबारलाई खोजी कार्य स्थगित गरिएको थियाे। मौसम अनुकूल भए शनिबार बिहानबाटै पुनः खोजी कार्य सुरु गरिने चितवनका सहायक प्रजिअ भुसालले जानकारी दिए। ‘अहिले (शुक्रबार साँझ) सम्म केही प्रगति छैन। साँझ परेकाले खोजी कार्य स्थगित गरेका छौं। भोलि (शनिबार) बिहान पानीको बहाव कस्तो रहन्छ, मौसमले कतिको साथ दिन्छ, सोहीअनुसार खोजीकार्य थाल्छौं,’ उनले नागरिकसँग भने।

सशस्त्र प्रहरीका तीनवटा र नेपाली सेनाको एउटा गरी चारवटा बोटमार्फत गोताखोरको टोलीलाई खोजीकार्यमा खटाइएको छ। घनास्थलबाट करिब २ सय मिटर तलसम्म गएर गोताखोरको टोलीले खोजी गरिसकेको छ। त्योभन्दा तल ठुलो भुमरी रहेकाले खोजीमा थप समस्या देखिएको छ। पानीको चाप अत्यधिक र नदी धमिलो भएकाले गहिराइसम्म गोताखोर पुग्न सक्ने अवस्था छैन। त्यसकारण चुम्बक फालेर बसको खोजी सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

यसरी बाँचे तीन जना

काठमाडौंबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बसमा सवार तीन जनाले झ्यालबाट हाम फालेर ज्यान जोगाएका छन्। ज्यान जोगाउनेमा रौतहटको गरुडा नगरपालिका–९ का सुरज गुप्ता र जुगेश्वर राय यादव तथा रौततहटकै देवाहीगोनाही नगरपालिका–१ का नन्दन दास हुन्। उनीहरूलाई भरतपुर अस्पताल पठाइएको छ।

 गुप्ता र यादवका अनुसार उनीहरूका चारचार जना आफन्त बगेको बसमा हराइरहेका छन्। यादव उपचार गरेर काठमाडौंबाट घरतर्फ फर्किएका थिए। गाडीमा भएका यादव एक्कासि त्रिशूली नदीमा पुगे। गाडीभित्र रहेका यादवलाई पानीले गाडीबाहिर फालिदियो। पौडिन अलिअलि जानेका यादव पौडिएर खोला बाहिर निस्कन लागे। नदी छेउमा रहेको ढुंगाको सहाराले नदीको किनारासम्म आइपुगे।

यादवले भने, ‘माथिबाट पहिरो खस्यो। एक्कासि त्रिशूलीमा पुगेछु। बसमा पानी भरिँदै गयो। पानीले गाडीबाट बाहिर फाल्यो। पौडिन अलिअलि जानेको थिएँ।

बिस्तारै बाहिर निस्किन पुगेछु। त्यहाँ ढुंगा भेटियो। त्यही ढुंगा समातेर किनारमा निस्किए।’ यादव किनारा छेउतिरको झार समाउँदै सडकसम्म आइपुगेका उनी आफ्ना परिवारका चार जना सदस्य अझै बेपत्ता रहेको बताउँछन्। ‘नदीको किनारामा आएपछि भगवान्को नाम लिँदै झार समातेर माथि चढ्दै आएँ। म त बाँचें तर मेरो परिवार अझै खोलामै छन्।’

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार यादवका १० वर्षीय छोरा, सात वर्षीया नातिनी, दुई वर्षीय नाति र ३५ वर्षीया छोरी सोही दुर्घटनामा परी बेपत्ता छन्।

सोही ठाउँका सुरज गुप्ता पनि भावविह्वल छन्। दुर्घटनामा ५५ वर्षीय बुवा परशुराम साह, ५२ वर्षीया आमा मीना देवी, २६ वर्षीया दिदी रिन्कु देवी र २८ वर्षीय भिनाजु निरज साह हराइरहेका छन्।

‘बुवा, आमा, दिदी, भिनाजु एउटै गाडीमा थियौं। म बसको सिसा फुटेपछि बाहिर निस्कन सकें तर उहाँहरूको कुनै पत्तो छैन,’ उनले भने।

उनीहरू नेपाल आर्मीको तालिम सकाएका भाइलाई बधाई तथा शुभकामना दिन काठमाडौं गएका थिए। भाइको पासआउटमा सहभागी हुन उनीहरू २६ गते काठमाडौं पुगेका थिए। पशुपतिनाथको दर्शन गरेर २७ गते बेलुका कलंकीबाट गाडी चढेको उनले बताए। अस्पतालबाट डिस्चार्ज भएर उनी बसमा हराएका आफन्तको पर्खाइमा छन्।

1720830207 m

देवाहीगोनाही–१ का नन्दन दास विदेश जान काठमाडौं गएका थिए। विदेश जान मेडिकल गरेर घर फर्कंदा उनी दुर्घटनामा परे। सुरुमा गाडी गुड्दै तल झरेको दासले बताए। त्यसपछि ढुंगा खस्ने क्रम पनि सँगसँगै भयो। गाडीसँगै नदीमा पुगेका दास पौडी खेल्न थाले। पौडी खेल्दा उनको नजिक एउटा ढुंगा आयो, सोही डुंगालाई समाएर दास नदीकिनारमा आए।

दासले भने, ‘सुरुमा त गाडी गुड्दै तल झर्‍यो। माथिबाट ढुंगा खस्ने क्रम पनि सँगसँगै थियो। तल पुगेर गाडीमा पानी भरिएपछि पौडिएर बाहिर निस्कियौं। ढुंगा आयो र त्यो समातेर बाहिर निस्किएँ।’

उनी नदीकिनारमा निस्कँदा अन्य दुई जना पनि बसिरहेको देखें। ती दुई जना पनि आत्तिएका थिए। पछि उनीहरू सँगसँगै माथि सडकमा निस्किए। ‘हामी बिस्तारै माथि निस्कियौं। पानी ठुलो परेको थियो,’ दासले भने। विदेश जान हिँडेका दासको नागरिकतासहित सबै कागजपत्र नदीमा बगेको छ।

यस्तो छ प्रत्यक्षदर्शीलेको भनाइ

बिहान करिब ३ बजेतिर एक्कासि दुईजना आफ्नो गाडीमा बस्न आएको एक प्रत्यक्षदर्शीले बताए। ‘बिहान ३ बजेतिरको कुरा हो। पहिरोले गर्दा गाडी जाम लाग्यो। रुखनिर दुई जना रोइराखेका थिए। मेरा मान्छे चार जना मरेका छन् भन्दै थिए,’ उनले भने, ‘पहिरोनिर जाँदा अर्का एक जना पनि रुँदै थिए। उनी लुगा लगाउँदै थिए। उनी पनि मेरो परिवारका चार जना खोलामा छन् भन्दै थिए। दुई जना मेरो गाडीमा आए र मेरा मान्छे मरे बस्न दिनू भने।’

उनीहरूलाई गाडीमा राखेर ती प्रत्यक्षदर्शी फेरि पहिरोनिर गए। त्यहाँ उनले रोइरहेका व्यक्ति मात्र देखे, गाडी देखेनन्। त्यसपछि उनले नै प्रहरीलाई खबर गरेका हुन्।

 
 

कमेन्टहरु