नवलपुरको विनयी त्रिवेणीमा २२ हजार ब्रोइलर कुखुरा मरे

नवलपुर टुडे
२०८१ असार २८ | मध्यान्ह ०४:०३ बजे

नवलपुर । बर्दघाट–सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–४ धारापानीमा करिब २२ हजार ब्रोइलर कुखुरा मरेका छन् । अन्नपूर्ण रिसर्च फार्म सेन्टरमा रहेका २२ हजार ब्रोइलर कुखुरा आज बिहान अचानक मरेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले शङ्कर टण्डनको फार्ममा रहेका ६० हजार ब्रोइलर कुखुरामध्ये २२ हजार मरेका जानकारी दिए ।
“वातानुकुलित (एसी) जडान गरिएको फार्ममा बिहीबार रातिदेखि विद्युत् आपूर्तिमा समस्या आएको रहेछ”, प्रनाउ पौडेलले भने, “अक्सिजनको कमी तथा गर्मीका कारण कुखुरा मरेको भन्ने सञ्चालकको भनाइ छ ।” टण्डनले पाल्नुभएको कुखुराको बीमासमेत नभएको उनले बताए ।
“बीमा कम्पनीले सरकारबाट पाउनुपर्ने प्रिमियम नपाएपछि पक्षी बीमा रोकिएको रहेछ”, पौडेलले भने, “त्यसैले कुखुराको बीमा भएको देखिएन ।” फार्ममा रहेका अन्य धेरै कुखुरासमेत झोक्राइरहेको भन्दै ती कुखुरासमेत मर्नसक्ने सञ्चालकलाई उदृत गर्दै पौडेलले बताए ।
मरेका कुखुराको सङ्ख्या यकिन गर्न फार्म सञ्चालक, स्थानीय जनप्रतिनिधि र प्रहरीहरु खटिएका छन् । गर्मीका कारण वा कुनै रोगको सङ्क्रमणले ती कुखुरा मरेका हुन् सोबारे अनुसन्धान भइरहेको प्रनाउ पौडेलले जानकारी दिए ।


















