पाल्पामा पहिरोका कारण आवागमन बन्द


पाल्पा । अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरो जाँदा पाल्पा आउने र यहाँबाट अन्यत्र जाने सवारी आवागमन बन्द भएका छन्। सिद्धार्थ राजमार्गअन्तर्गत चर्चरेमा लेदोसहितको पहिरो गएको छ। त्यस्तै बर्तुङ र कालिमाटी क्षेत्रमा समेत पहिरो जाँदा रुपन्देहीसँग पाल्पाको आवतजावत बन्द छ।
स्याङ्जाबाट पाल्पा प्रवेश गर्ने राम्दी नजिकै राजमार्ग माथिबाट आएको लेदोसहितको पहिरोले बाटो बन्द छ। त्यस्तै राजमार्गकै अगाँहाखोला र पिपलडाँडाको बीच सीता पहाडमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। राम्दी क्षेत्र पनि पहिरोका कारण अवरुद्ध छ।
गुल्मीबाट आवतजावतका लागि पनि तानसेन–तम्घास सडक ठाउँठाउँमा बन्द छ। रिब्दीकोट गाउँपालिकाको खस्यौली मालमुलमा पहिरोसँगै खसेको ढुंगाले लाग्दा घरमा क्षति पुगेको छ। त्यस्तै पार्किङ गरी राखेको दुई वटा मोटरसाइकलमासमेत क्षति पुगेको प्रहरीले जनाएको छ। तानसेन–रिडी सडक खण्डको मालमुल, अर्गली, लघुवा, जोर्तेलगायतका स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ।
त्यस्तै तानसेनबाट अर्घाखाँची जाने सडक समेत अबरुद्द छ। सो बाटोमा पनि पहिरो खसेको प्रहरीले जनाएको छ । आर्यभन्ज्याङ–रामपुर सडकको विभिन्न स्थानमा पहिरो खसेर अवरुद्ध भएको छ।
कालीगण्डकी करिडोरअन्तर्गत सहदीखोला, लगायतका स्थानमा समेत पहिरो खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठले बताए। गुल्मी, स्याङ्जा र पर्वत जाने सवारी बिचबाटोमै छन। वर्षा नरोकिएकाले पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ।























