धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु


जनकपुरधाम, असार २० । धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो धनौजी गाउँपालिका-५ स्थित बहुअर्वामा घोङ्गघाइर पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा स्थानीय मुस्कान खातुन, जिनत खातुन र अजनवी खातनु रहेका छन् । उनीहरु १० देखि १२ वर्ष उमेर समूहका थिए ।
स्थानीयका अनुसार उक्त पोखरीमा १० जना भन्दा बढी बालबालिका नुहाइरहेका थिए । त्यही बेला बालिकाहरू डुबेपछि नुहाइरहेका अन्य बालबालिकाले गाउँलेलाई बोलाएका थिए ।
स्थानीयले तीनै जनालाई उद्धार गरी अस्पताल पठाएको थियो । एक जनाको अस्पताल पुर्याउनु अगावै मृत्यु भएको र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ ।























