दुर्घटना

रौतहटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ जना घाइते

नवलपुर टुडे
२०८१ असार १५ | मध्यान्ह १२:०३ बजे

रौतहट, असार १५ । रौतहटको गौर–चन्द्रनिगाहपुर सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने आठ जना घाइते भएका छन् ।

गौरबाट भैरहवातर्फ गइरहेको ना ७ ख ८४१४ नम्बरको बस शनिवार बिहान ८ बजेतिर गरुडा नगरपालिका–१ स्थित जयनगर चोक नजिकै अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा माधवनारायण नगरपालिका–३ भेल्हीका शैलेन्द्रकुमार गिरीकी १८ बर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् । 

दुर्घटनाको जानकारी भएलगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले  घाइतेहरूको उद्धार गरेर उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको छ ।

दुर्घटनामा २६ वर्षिया रन्जुदेवी दासको दाहिने हात भाँचिएको र उनको उपचार ग्राण्डी अस्पताल गरुडामा भइरहेको डिएसपी गिरीले बताइन् । अन्य सात घाइतेहरूको शिवनगर र गरुडामा उपचार भइरहेको छ ।

दुर्घटनापछि बस चालक र सहचालक फरार रहेका छन् । उनीहरूको खोजीकार्य साथै दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

कमेन्टहरु