कपिलवस्तुको शिवराज नगरपालिकामा सर्पदंश उपचारका लागि नि:शुल्क ऐम्बुलेन्स सेवा

कपिलवस्तु, असार १३ । कपिलवास्तुको शिवराज नगरपालिकामा सर्पदंश सेवा लिनेहरुलाई निशुल्क ऐम्बुलेन्स सेवा प्रदान गरिने भएको छ । नगरपालिकाका मेयर अजय थापाले सामाजिक संजालमार्फत सर्पदंश सेवा लिने नगरबासीलाई निशुल्क ऐम्बुलेन्स सेवा प्रदान गरिने जानकारी दिएका हुन् ।
तराई क्षेत्रमा गर्मी र वर्षातको समयमा सर्पको टोकाइबाट धैरे व्यक्तिहरुको उपचारमा पहुँच नहुंदा ज्यान गुमाउने गरेका छन् । शिवराज नगरपालिकाले यसअघि आफ्ना नगरबासीलाई निशुल्क रुपमा ऐम्बुलेन्स सेवा दिँदै आएको थियो । नगर प्रमुख थापाको पहलमा गर्भवती महिलाहरुलाई थप उपचार गर्न बुटवल भैरहवासम्म निशुल्क ऐम्बुलेन्स सेवा दिँदै आइरहेको छ ।
पालिकाले मृगौला पिडितहरुका लागि डायलाइसिस सेवा र शिवराजबासीलाई शव बाहन सेवा निशुल्क दिँदै आएको छ । शिवराज नगरपालिकाका मेयर थापाले यसअघि शिवराजमा निशुल्क शिक्षा अभियान संचालन गर्दे आइरहेको छ । नगर प्रमुख थापाले जनताबाट उठेको कर जनताको सेवामा खर्च गरिने बताए ।























