विचार/ब्लग

मुस्ताङमा प्रहरी क्रियाशील छ, अपराधजन्य घटना नगन्य

भोजराज पाण्डेय
२०८१ असार १३ | बिहान ०६:०३ बजे

मुस्ताङ । मुस्ताङ समग्र देशकै अपराध कम हुने जिल्ला मध्येको एक हो। त्यसैले यहाँ अपराधजन्य घटना ज्यादै नगन्य छ। मुस्ताङमा भित्रिने कामदार तथा पर्यटकबाट हुने संभावित अपराधका घटना र जोखिमप्रति  प्रहरी सचेत छ। 

हिमालपारिका नागरिक आफैंमा सम्भ र शालीन छन्। उनीहरू आफ्नो काममा व्यस्त हुने भएकाले अपराधजन्य घटना कम हुने गरेको हो। कठिन भूगोलमा यहाँको प्रहरी निकायले स्थानीय नागरिकलाई प्रवाह गर्ने विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको योगदानले समग्र शान्ति सुरक्षा र अपराध नियन्त्रण प्रभावकारी बन्न सकेको हो।

पछिल्लो समय मुस्ताङ प्रहरीले अपराध न्यूनीकरणका लागि साइबर अपराध, लागुऔषध, ट्राफिक सचेतना र सबै प्रकारका सामाजिक हिंसा न्यूनीकरण तथा रोकथामका लागि दिनहुँजसो सचेतनामूलक कार्यक्रम गरेको छ।

प्रहरी कार्यसम्पादन प्रभावकारी बनाउन  नागरिक र प्रहरीको सम्बन्ध घनिभूत तुल्याउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ। सीसी क्यामेरा जडान र ट्राफिक बिट निर्माणले प्रहरी मनोबल उच्च भएको छ।

मुस्ताङ प्रहरी विपद् जोखिम न्यूनीकरण तथा यसको प्रतिकार्यका लागि स्ट्यान्डबाई रहन्छ। जिप्रकामा २५ जना र इलाकामा १५ जनाको टोली मौजुद छ। केहीपरे विपद् व्यवस्थापन र उद्धार कार्यमा हामी तुरुन्तै पुग्न सक्छौं।

प्रहरीमा उजुरी दिने पीडित पक्षलाई आवश्यक सहजीकरण गर्ने गरिएको छ। सडक दुर्घटना र मादक पदार्थ बिक्री वितरणलाई व्यवस्थित र मर्यादित बनाएकै कारण सवारी दुर्घटना कम छ । विगत ५ महिनादेखि हामीकहाँ कुनै उजुरी र गुनासो परेको छैन। पर्यटक तथा कामदारको डेटुडे रेकर्ड राख्छौं। नागरिक, समुदाय  र जनप्रतिनिधिहरूको मन जित्न मुस्ताङ प्रहरी सफल भएको छ।

(पाण्डेय मुस्ताङका प्रहरी नायव उपरीक्षक हुन्।) 

कमेन्टहरु