भारतबाट घुम्न आएका दुई जना तीर्थयात्रीको मृत्यु

नवलपुर टुडे
२०८१ असार १० | मध्यान्ह १२:०३ बजे

नवलपुर, असार १० । भारतबाट नेपाल घुम्न आएका दुई जना तीर्थयात्रीको मृत्यु भएको छ ।
नेपालको पशुपतिनाथ मन्दिर लगायत विभिन्न स्थानमा घुम्नका लागि लागको सिजि ०४ ई ३४५८ नम्बरको भारतीय यात्रुबाहक बसमा सवार ५५ जना यात्रु मध्ये दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारत रौननाथ नगर थाना बलरामपुरका ५४ वर्षीया र रन्जु केसरी र भारत उत्तर प्रदेश सोनभरका ४८ वर्षीया शान्ती देवी रहेका छन् । लगातार वान्ता र पखाला भइ उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकोमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरू आइतबार दिउँसो ३ बजेतिर रुपन्देहीको सुनौली नाका हुँदै नेपाल प्रवेश गरेका थिए । सोही समयबाट नै उनीहरु दुवै जना विरामी परेका थिए । दुवै जनाको शव आफन्तले बुझि लगिसकेको प्रहरीले जनाएको छ ।























