नवलपुरको देवचुलीमा गुडिरहेको बसलाई जिपले पछाडिबाट ठक्कर दिँदा ६ जना घाईते


नवलपुर, असार ९ । नवलपुरको देवचुली नगरपालिका-१६ रजहरको क्याम्पस चोकमा गुडिरहेको बसलाई जिपले पछाडिबाट ठक्कर दिँदा ६ जना घाईते भएका छन् ।
कावासोतीबाट चितवन तर्फ जाँदै गरेको ग.प्र.०४-००१ ख ००३३ नं.को बसमा सोही दिशा तर्फ जाँदै गरेको ग १ ज ७१४६ नं.को बोलेरो जिप पछाडी ठोक्किएर भएको दुर्घटनामा ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।
घाइते हुनेमा देवचुली नगरपालिका-१७ बस्ने अन्दाजी ४०/४५ वर्षीया धन कुमारी सुनारी, अन्दाजी ६०/६५ वर्षीया प्रितिमाया सोमै, अन्दाजी ३०/३५ वर्षीया हरिमाया पुलामी, अन्दाजी ३८ वर्षीया सुक माया रेस्मी, अन्दाजी ३० वर्षीया निमा गुरुङ र अन्दाजी ८१ वर्षीया मन कुमारी बाचे रहेका छन् ।
उनीहरुको दुम्कौली नगर अस्पताल केउरानीमा उपचार भइरहेको र दुवै सवारी साधनका चालक प्रहरी नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।























